काठमाडौँ । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीय बासिन्दा र व्यापारीहरूले आन्दोलन सुरु गरेका छन् । नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा असन्तुष्टि बढेको हो ।
स्थानीयवासीका अनुसार भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती व्यापार, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा असर पर्ने देखिएको छ । त्यसै कारण उनीहरूले विरोध कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाइरहेका छन् ।
आन्दोलनको प्रारम्भिक चरणमा प्रदर्शनकारीहरूले बिहीबार करिब पाँच घण्टा हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोदकुमार यादवका अनुसार शुक्रबारदेखि सडक अवरोध र बजार बन्द गर्दै आन्दोलनलाई तीव्र बनाइएको छ । आन्दोलनकर्ताले वैशाख २५ गते चक्काजाम, २६ गते र्यालीसहित कोणसभा, २७ गते बजार बन्द तथा मसाल जुलुस र त्यसपछि अनिश्चितकालीन हड्तालको तयारीका लागि छलफल गर्ने बताएका छन् ।
शुक्रबार बिहानदेखि प्रदर्शनकारीहरूले बरियारपट्टी चोकमा टायर बालेर तथा सडकमा अवरोध सिर्जना गर्दै हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्, जसले पूर्व–पश्चिम यातायात प्रभावित भएको छ । नेपाल–भारत आवतजावत गर्ने यात्रुहरू समेत समस्यामा परेका छन् ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सेवाग्राहीलाई असुविधा नहोस् भनेर माडर भन्सार कार्यालयबाट सेवा प्रवाह भइरहेको जानकारी दिएका छन् । उनले आन्दोलनकारीको मागबारे अर्थ मन्त्रालयलाई जानकारी गराइने र प्राप्त निर्देशनअनुसार प्रक्रिया अघि बढाइने बताए ।






