विराटनगर । विराटनगरका कापी उद्योगी सिरहामा मृत फेला परेका छन् । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् ।
उनी मंगलबार कापीको मार्केटिङका लागि सिरहा गएका थिए । बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुका अनुसार भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा छन् ।
भट्टराई मंगलबार बेलुका को १ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गर्दै चालक सागर राईसँग सहदेव होटलमा बास बस्न पुगेका थिए । सो होटलमा खानपिन पछि राति करिब ११ बजे भट्टराई नजिकै रहेको शम्भु होटल पुगेका थिए । राति पौने ११ बजेतिर शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।