काठमाडौँ । बेलायत (यूके) मा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो ।

आवेदनका लागि ३९२ जनाले अनलाइनमार्फत इन्ट्री गरेको विभागका महानिर्देशक मदन दहालले बताए । उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् ।

तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको छ ।

विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टल मार्फत आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पुरा गरेका नर्सहरूले आवेदन दिन सक्नेछन् । त्यसका लागि १९ अक्टोबर २०२३ (२ कार्तिक २०८०) सम्ममा आवेदन दिने म्याद रहेको छ ।

बेलायतमा करिब १०० जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको हो ।