काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुने बताएका छन् । बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्ने सक्ने अवस्था आएको बताए ।

उनले भने, ‘आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ, प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे । पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।

पुनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिसहरु हुन थालेको स्मरण गरे ।

उनले भने ‘पहिलापहिला मुखिया र जिम्मावालहरुको धारणा नै आममानिसको धारणा हुने जस्तो थियो । पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित थिए, अहिले त एउटा घरमा चार जना छ र फरकफरक पेशामा छ भने चारैथरि विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ । प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाब आएको छ ।’