काठमाडौं । इक्वेडरको राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या भएको छ । इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।

बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । उनीमाथि तीन गोली लागेको छ ।

इक्वेडरमा अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा पूर्वपत्रकार समेत रहेका ५९ वर्षीय फर्नान्डो पनि उम्मेदवार थिए । पत्रकारितामा संलग्न रहँदा उनले भ्रष्टाचार र अपराधिक गतिविधिका विरूद्ध लेख्दै आएका थिए ।

गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए ।