काठमाडौँ । चीनको ग्वाङ्झाउमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ (सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य)को उपाधि प्रदान गरिएको छ। मे २१ देखि २३ सम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालले आफ्नो पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।

नेपाल पर्यटन बोर्डका अनुसार देशको प्राकृतिक सौन्दर्य, धार्मिक–आध्यात्मिक महत्त्व, सांस्कृतिक विविधता तथा साहसिक गतिविधिहरूको आकर्षणका आधारमा यो सम्मान प्रदान गरिएको हो।

तीन दिनसम्म चलेको मेलामा नेपालले ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित सहभागिता जनाएको थियो। कार्यक्रममा सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर र लक्जरी पर्यटनका विविध पक्षहरू अन्तरराष्ट्रिय आगन्तुक र पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरिएको थियो।

ग्वाङ्झाउ, हङकङ र ग्रेटर बे एरियासँग नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले चिनियाँ बजारलाई नेपालले महत्वपूर्ण अवसरको रूपमा लिएको छ। विशेषगरी वेलनेस, धार्मिक र लक्जरी पर्यटनतर्फ चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको बताइएको छ।

उद्घाटनका अवसरमा नेपाली सांस्कृतिक नृत्यसहित गन्तव्य नेपालसम्बन्धी विशेष प्रस्तुति राखिएको थियो। कार्यक्रममा सहभागीहरूलाई नेपालको पर्यटन सम्पदा र सम्भावनाबारे विस्तृत जानकारी गराइएको थियो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले देशको पर्यटन बजार विस्तार रणनीतिबारे प्रस्तुति दिएका थिए र सम्बन्धित छलफलमा पनि सहभागिता जनाएका थिए।

मेलामा नेपालका आठ पर्यटनसम्बन्धी कम्पनीहरूले सहभागिता जनाउँदै ट्रेकिङ, भ्रमण, होटल र आतिथ्य सेवासम्बन्धी आफ्ना प्याकेजहरू अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गरेका थिए।

हाल काठमाडौँ–ग्वाङ्झाउ सिधा हवाई उडान सञ्चालनमा रहेकाले नेपाल र चीनबीचको पर्यटन आवागमन थप सहज हुने र चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।