काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा साक्षरता नभएका सेवाग्राहीलाई लक्षित गरी बैंकिङ सेवा अझ पहुँचयोग्य बनाउन नयाँ निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंकले यस्ता समूहका ग्राहकलाई सेवा लिन सहज हुने गरी छुट्टै काउन्टर व्यवस्था गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । साथै, प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउन बैंकहरूलाई अन्य संस्थासँग समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ । यस्तो शाखाबारे जानकारी सम्बन्धित बैंकको वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।

एटीएम सेवा प्रयोगलाई पनि अपाङ्गमैत्री बनाउन निर्देशन दिइएको छ । ब्रेल संकेत, अडियो सहायता र पहुँचयोग्य नियन्त्रण बटनसहितको कम्तीमा एक एटीएम हरेक एटीएम लाउञ्जमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता सुविधाको विवरण पनि वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ ।

दृष्टिविहीन वा अन्य अपाङ्गता भएका व्यक्तिले डिजिटल बैंकिङ सेवा आफैं प्रयोग गर्न नसक्ने घोषणा गरेमा, बैंकहरूले आवश्यक सहजीकरण गरी सेवा उपलब्ध गराउनुपर्ने प्रावधान पनि लागू गरिएको छ ।

त्यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बैंकको वेबसाइटलाई दृष्टिविहीनमैत्री बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । डेबिट र क्रेडिट कार्डमा पनि दृष्टिविहीनले सजिलै पहिचान गर्न सक्ने विशेष स्पर्शीय (tactile) संकेत समावेश गर्न निर्देशन दिइएको छ ।

यसका साथै, कर्मचारी व्यवस्थापन सम्बन्धी नयाँ नियम पनि लागू गरिएको छ । बैंक तथा वित्तीय संस्थाले कार्यालय समय बाहेक अतिरिक्त समयमा कर्मचारीलाई काममा लगाउँदा प्रचलित कानुन अनुसार अतिरिक्त पारिश्रमिक अनिवार्य दिनुपर्नेछ । साथै, कर्मचारीलाई बाध्यात्मक रूपमा अतिरिक्त काममा लगाउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।