काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यो भ्रमण दुई दिनको हुनेछ । भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी उनले भारतीय जनता पार्टी (भाजपा)का केही नेताहरूसँग पनि छलफल गर्ने तयारी भएको बताइएको छ ।

यसअघि पनि भारतले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक भ्रमणमा आमन्त्रण गर्दै आएको उदाहरण रहेको बताइन्छ, जसमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भ्रमण पनि समावेश छन् ।

यस पटक सत्तारुढ दलका सभापतिको हैसियतमा लामिछानेलाई आमन्त्रण गरिएको भाजपा निकट स्रोतको भनाइ छ ।

नेपाल–भारत सम्बन्धमा पछिल्ला समयमा केही कूटनीतिक असहजता देखिएको सन्दर्भमा यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । सीमा विवाद लगायतका विषयले उच्चस्तरीय भ्रमणहरू प्रभावित भएको चर्चा भइरहेका बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ ।