काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका दैनिक सरोकारका समस्या क्रमशः समाधान गर्दै जाने सरकारको लक्ष्य रहेको बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सडक, ढल, विद्युत् तथा खानेपानीजस्ता आधारभूत सेवासम्बन्धी समस्यामा सरकारले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार महिनैपिच्छे सार्वजनिक सुनुवाइ गर्ने योजनाअन्तर्गत काठमाडौँ महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो कार्यक्रम गरिएको हो । कार्यक्रममा उनले नागरिकका सुझाव र गुनासो सुनेर मात्र नीति निर्माण अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रका सुधारबारे जानकारी दिँदै देशभरका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्यांकन गरी आवश्यकताअनुसार बजेट विनियोजन गर्ने योजना रहेको बताए । विगतमा सबै विद्यालयमा समान बजेट वितरण गर्दा समस्या देखिएको उल्लेख गर्दै अब आवश्यकता-आधारित बजेट प्रणाली लागू गरिने उनले जानकारी दिए ।
त्यसैगरी विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया विज्ञ समिति मार्फत पारदर्शी बनाइने र योग्यताको आधारमा नियुक्ति हुने व्यवस्था अघि बढाइएको उनले बताए ।
कार्यक्रममा स्थानीय बासिन्दाले विद्यालय भर्ना शुल्क, खानेपानी अभाव, ढल व्यवस्थापन, सडक बत्ती तथा सिसिटिभी जडान, र त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा नतिजा ढिलाइ जस्ता विषयमा गुनासो राखेका थिए ।
जवाफमा मन्त्री पोखरेलले भर्ना शुल्कबारे स्थानीय तहसँग समन्वय गरेर समाधान खोजिने, खानेपानीको गुणस्तर परीक्षण सम्बन्धित निकायसँग सहकार्य गरी सुनिश्चित गरिने, तथा सडक बत्ती र सिसिटिभी व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकासँग सहकार्य गरिने बताए ।
त्यसैगरी ढिलाइ भएका परीक्षा नतिजा छिटो प्रकाशन गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ थियो ।
कार्यक्रममा सांसद तथा प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद र सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।






