वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आगामी बजेटमार्फत उद्योग तथा व्यापार क्षेत्रका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएकी छन्। आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न औद्योगिक र व्यावसायिक क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिइन्।
वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) र ड्राइपोर्टको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले उद्योगी–व्यवसायीसँगको सहकार्यमा नीतिगत सुधार गर्दै समस्या समाधान गरिने बताइन्। उनले औद्योगिक विकास बिना समग्र आर्थिक प्रगति सम्भव नहुने उल्लेख गर्दै देखिएका अवरोध हटाउन मन्त्रालय सक्रिय रहेको जानकारी दिइन्।
मन्त्री यादवले आपूर्ति व्यवस्थालाई व्यवस्थित र जनमुखी बनाउन सरकार लागिपरेको पनि बताइन्। यसै सन्दर्भमा चालु वर्षमै किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउन आवश्यक तयारी गरिएको उनले उल्लेख गरिन्।
अनुगमनका क्रममा भन्सार प्रणाली, आयात–निर्यात प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा कर्मचारी र व्यवसायीसँग छलफल गरिएको थियो। व्यवसायीहरूले सवारीसाधन जाँचलाई प्रभावकारी बनाउन एक्स–रे प्रणाली जडान गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।






