काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । प्रदेश कार्यालयले आ.व २०८०/८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य चौकीमा साउन २३ गते सम्पन्न गरेको हाे ।
उक्त कार्यक्रमको सभापति नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा रहेकी थिईन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी, विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष ममता महतो तथा अतिथिका रुपमा वडा नं १ का वडाध्यक्ष फर्मान मिया अंसारी, वडा नं २ का वडाध्यक्ष विजय गैरे र वडा नं ४ का वडाध्यक्ष बासु पंजियार थारु को उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ६५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेकी थिइन । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले माछा पोखरी लगायत विभिन्न बालीहरुको बीमाका बारेमा र नक्सा नभएको घरको बीमा कसरी गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए । साथै, वडा नं ४ का वडाध्यक्षले वडाको पहलमा कृषकहरुलाई गाई भैसीको बीमा गराउदा ८० प्रतिशत अनुदान बाहेक थप अनुदान उपलब्ध गराई रहेको जानकारी समेत दिएका थिए ।
कार्यक्रमका सहभागीहरुले यस्तो कार्यक्रमबाट बीमा सम्बन्धी चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरी हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको समापनमा शर्माले गाउँपालिकाले आफ्नो दैनिक सेवा प्रवाहमा बीमालाई समावेश गर्न र अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमासम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिईन ।