काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले पुन: आन्दोलन गर्ने चेतावनी दिएको छ । कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघले आन्दोलनको चेतावनी दिएको हाे । संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा उपलब्ध नगरेपछि यस्ताे चेतावनी दिएकाे हाे ।
सरकारले २०६९ साल माघ १ गतेदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिँदै आएको थियो । विगत ११ वर्षदेखि बीमा कम्पनीहरूले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्दै आएका छन् ।
तर केही बर्षयता सरकारले दिनुपर्ने अनुदानको रकम ढिलो दिँदै आएको बीमक संघले जनाएको छ । जसको कारण बीमा कम्पनीहरु समस्यामा परेको संघले बताएको छ ।
साथै सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्णरूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन असमर्थ रहेको संघले जनाएको छ ।
यस अघि सरकारले बीमा अनुदान बापतको अर्बौ रुपैयाँ रकम भुक्तानी नदिए पछि बीमकहरुले पोलिसी नै बिक्री बन्द गरेका थिए । बीमकले पोलिसी बिक्री गर्न बन्द गरे पछि कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भूषालको अध्यक्षमा बनसेको बैठकले यहि असार मसान्त भित्र रकम निकासा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सँगै सरकारले ७८ करोड रुपैयाँ निकासा गर्यो ।
तर अझै २ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । उक्त रकम नपाउदा बीमकहरु समस्यामा परेका छन् ।