काठमाडौं । बजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष तीन कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिने भएको हो ।
बैंकले साउन २५ गतेको बैंकको संचालक समितिको निर्णय अनुसार भन्दै ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिन सबै शाखाहरुलाई सर्कुलर गरेको छ । औसत आधार दरमा १.८१ प्रतिशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो ।
न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्म अठोट सेयर धितो कर्जा दिने र कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने छन् ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको जनाएको ।
त्यस्तै, बैंकले ग्राहकहरुको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने जनाएको छ ।
अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले उल्लेख गरेको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैङ्क सफल भएको छ ।