काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् । शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्ताे बताएका हुन् ।

उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालय जस्तो नभई अस्पताल जस्तो भइरहेको पनि बताए ।

उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताए । अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ ।