काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न सरकार तयार रहेकाे बताएका छन् । उनले सरकारले तिर्नुपर्ने गरी सिर्जना भएको दायित्वको भुक्तानी गर्ने बताए । सोमबार भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका निर्माण व्यवसायीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ, बिल उठाएका सबै भुक्तानी हुन्छ ।’ सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको उनले बताए ।

महतले भने ‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ, मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं । तर, बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन ।’

कुनै ठेक्काको बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्री महतले सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने पनि बताए ।