काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भोलि हुने भएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आइपीओ भोलि साझ ५ बजे बाँडफाँड हुनेछ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार १५ लाख ५३ हजार ९५६ आवेदकबाट १ करोड ८३ लाख ११ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो ।

यस हिसावमा ५ लाख ९३ हजार ९५६ जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । योग्य आवेदकबाट ९ लाख ६० हजारले आइपीओ १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।