काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार सम्पादकहरूसँगको कुराकानीमा उनले महरामाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिइसकेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढ्न लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँहरूमाथि पुन: अनुसन्धान हुन्छ, दोषी पाइए मुद्दा चल्छ, कि प्रतिवेदनमा नाम हाल्नु हुँदैनथ्यो, नाम हालिसकेपछि उनीहरूमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर सीआईबीलाई निर्देशन दिएको छु ।’
भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगले लागेकाले पार्टीको नेता भन्दैमा कसैलाई छुट नदिइने उनले स्पष्ट पारे ।