काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चौथो त्रैमासमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ र अन्य स्रोतबाट २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी क्रमशः ३७ अर्ब ९१ करोड रुपैयाँ र ५४ करोड ७४ लाख रुपैयाँ थियो ।
अघिल्लो वर्ष चौथो त्रैमासमा ईबीआईटीडीए २० अर्ब ८२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर २० अर्ब ११ करोड रुपैयाँ छ ।
चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १.८६ प्रतिशतले घटेर ७५ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्ष रिजर्भमा ७७ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी घटेर ४३.३६ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ४७.०७ रुपैयाँ थियो । कम्पनीको पीई रेसियो २०.९२ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ ।