काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीकाे आइपीओ आज निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले बाँडफाँड गरेको हो ।

आइपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको भेरिफाइ भएको थियो । जसमध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ । बाकी १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबले आवेदन दिएकामध्ये ३ लाख ९६ हजार ८ सय ३६ जनाले शेयर नपाउने भएका छन् । बाँकी ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको थियो ।