काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेको भन्दै इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरुलाई त्यस्ता सामग्रीको विश्वास नगर्न आग्रह गरेको छ ।

इसेवाले आज एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेको त्यस्ता समाचारहरुको पछि नलाग्न ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गरेको हो ।

यस्तै केही अनलाइन समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानकर्षण भएको समेत जनाएको छ ।इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराउदै कम्पनीले इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी विज्ञप्तिमार्फत गराएको छ ।

भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान अनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुने र यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्ने भएकोले इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने इसेवाले स्पष्ट पारेको छ ।

यस्तै इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेकोमा कम्पनीले स्पष्ट पारेको छ ।