काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका–१ का आज बीमा क्षेत्रमा स्थापित नामका रूपमा परिचित छन्।
दैलेखको पहाडमा जन्मिएर त्यहीँ हुर्किएका उनी २०५५ सालदेखि तराई झरेका हुन्। जीवनको सुरुवाती चरणमा शिक्षकको रूपमा काम गरेका गडतोला अहिले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)को टिकापुर शाखामा सिनियर एजेन्सी म्यानेजरका रूपमा कार्यरत छन्।
२०५९ सालदेखि बीमा क्षेत्रमा प्रवेश गरेका उनले झन्डै दुई दशकभन्दा लामो समय यही क्षेत्रमा बिताइसकेका छन्। निरन्तर मेहनत र लगनशीलताका कारण उनले आफूलाई सफल अभिकर्ताका रूपमा स्थापित गरेका छन्।
शिक्षकबाट बीमा अभिकर्तासम्मको यात्रा
बीमा क्षेत्रमा आउनुअघि डिल्ली प्रसाद निजी तथा बोर्डिङ स्कुलमा अध्यापन गर्थे। तर शिक्षक पेशाबाट आर्थिक रूपमा अपेक्षित उपलब्धि हासिल गर्न नसक्दा उनी अन्य विकल्पको खोजीमा थिए।
यसै क्रममा उनले एउटा व्यावसायिक फर्ममा पनि काम सुरु गरे, तर त्यहाँ पनि सोचे जस्तो उपलब्धि हासिल हुन सकेन। नयाँ अवसरको खोजीमा रहेका डिल्ली प्रसादले तत्कालीन बीमा समितिको तालिम लिने अवसर पाए।
संघर्षले हराउन नसकेकी सरस्वती, एलआईसी नेपालबाट ७ पटक भइन् एमडीआरटी
उक्त तालिमबाट प्रभावित भई उनले अन्ततः बीमा क्षेत्रमा पाइला टेके। त्यतिबेला एउटा अभिकर्ताले एकभन्दा बढी कम्पनीमा आवद्ध भएर काम गर्न सक्ने व्यवस्था थियो। त्यसकारण उनले अन्य कम्पनीहरूसँग पनि काम गरे। पछि भने एउटा विश्वसनीय र सबल कम्पनी भएकाले एलआईसी नेपालसँग जोडिएको उनको भनाइ छ।
अन्ततः एलआईसी नेपालसँग आबद्ध भएर उनी विगत दुई दशकदेखि निरन्तर यही क्षेत्रमा अघि बढिरहेका छन्।
एमडीआरटीको निरन्तर यात्रा
डिल्ली प्रसाद एमडीआरटीको क्राइटेरिया पूरा गर्ने सफल अभिकर्तामध्ये एक हुन्। उनले करिब १५–१६ वर्षदेखि निरन्तर एमडीआरटीको मापदण्ड पूरा गर्दै आइरहेका छन्।

उनका अनुसार एमडीआरटी केवल सम्मान मात्र होइन, निरन्तर मेहनत, लक्ष्यप्रतिको प्रतिबद्धता र पेशाप्रतिको इमान्दारिताको परिणाम पनि हो।
एमडीआरटीसँग सम्बन्धित शुल्क र प्रक्रियामा रहेको जटिलताका कारण उनले सदस्यता भने लिएका छैनन्। तर उनी भन्छन्, “क्राइटेरिया पूरा गर्नु नै मेरो लागि मुख्य कुरा हो।”
बीमा यात्राको अविस्मरणीय क्षण
उनको बीमा यात्रा सहज भने थिएन। विशेषगरी पहाडी क्षेत्रहरूमा ग्राहक भेट्न जाँदा उनले निकै जोखिमपूर्ण अवस्थाहरूको सामना गर्नुपर्थ्यो।
दैलेखको दुर्गम क्षेत्रमा बीमा सम्बन्धी तालिम र ग्राहक भेटघाटका क्रममा उनी एकपटक करिब १० मिटर नजिकै परेको चट्याङबाट जोगिन सफल भए। त्यो क्षण उनको जीवनकै बिर्सनै नसकिने अनुभव बनेर मानसपटलमा बसेको छ।
यी र यस्ता कठिनाइपूर्ण अनुभवहरू संगाल्दै उनी बीमा अभिकर्ताको यात्रामा निरन्तर अघि बढिरहेका छन्।
बीमा दीर्घकालीन सुरक्षाको माध्यम
डिल्ली प्रसादका अनुसार बीमा पेशा केवल आम्दानीको माध्यम मात्र नभई दीर्घकालीन सुरक्षाको आधार पनि हो।
“आज एउटा पोलिसी बिक्री गर्दा त्यसको लाभ एकपटक मात्र होइन, दीर्घकालसम्म पाइन्छ।” उनी भन्छन्।
उनका अनुसार बीमा अभिकर्ताले आफ्नो मात्र होइन, ग्राहकको भविष्य पनि सुरक्षित बनाइरहेका हुन्छन्। यही कारणले यो पेशा अन्य पेसा–व्यवसायभन्दा फरक र अर्थपूर्ण रहेको उनको भनाइ छ।
अभिकर्ता पेशाप्रतिको प्रेम
दुई दशकको यात्रामा कहिलेकाहीँ पेशा परिवर्तन गर्ने सोच नआएको भने होइन। तर उनले त्यस्ता भावनालाई नियन्त्रण गर्दै निरन्तर अघि बढे।
“मान्छे भएपछि स्वभाविक रूपमा विभिन्न सोचहरू आउँछन्, तर मैले आफूलाई सम्हाल्दै फेरि यही पेशामा केन्द्रित गरे।” उनी भन्छन्।
उनका अनुसार बीमा क्षेत्रमा एकपटक गहिरो रूपमा संलग्न भएपछि यसबाट बाहिरिन त्यति सहज हुँदैन। यो पेशासँग भावनात्मक लगाव त हुन्छ नै, ग्राहकप्रतिको जिम्मेवारी पनि उत्तिकै ठूलो हुन्छ।

उनका अनुसार विशेषगरी बीमा क्षेत्रमा विश्वास नै सबैभन्दा ठूलो पूँजी हो।
समाजमा बीमाप्रतिको धारणा
सुरुका दिनहरूमा बीमाप्रति समाजमा नकारात्मक धारणा रहेको डिल्ली प्रसाद बताउँछन्। मानिसहरूलाई बीमाको महत्व बुझाउन निकै मेहनत गर्नुपर्थ्यो।
तर अहिले अवस्था केही बदलिएको छ। जनचेतना बढेको छ, तर अझै पनि पूर्ण रूपमा सकारात्मक सोच विकास हुन बाँकी रहेको उनको अनुभव छ।
“अहिले पनि मानिसहरूलाई कन्विन्स गर्न मेहनत गर्नुपर्छ, तर पहिलाभन्दा सजिलो भएको छ,” उनले भने।
बीमालाई भविष्यको सुरक्षाको रूपमा हेर्नेभन्दा पनि खर्चका रूपमा हेर्ने प्रवृत्ति रहेकाले बीमा सचेतना अझै बढाउनुपर्ने उनको धारणा छ।
आर्थिक स्थायित्व र उपलब्धि
बीमा पेशाबाट उनले आर्थिक रूपमा पनि राम्रो उपलब्धि हासिल गरेका छन्। सुरुवाती दिनहरूमा सामान्य साइकलसमेत नहुने अवस्थाबाट सुरु गरेका उनले आज घर बनाउने, छोराछोरीको शिक्षा र स्थिर जीवनशैली सुनिश्चित गर्ने लगायतका काम गरिसकेका छन्।
उनका अनुसार अहिले मासिक आम्दानी पनि सन्तोषजनक छ र यही पेशाले जीवन सहज रूपमा चलिरहेको छ।
उनी भन्छन्, “मैले आफ्नो बाँकी जीवन पनि बीमामै समर्पित गर्ने सोचेको छु।”
लगनशीलता र इमान्दारिता नै सफलताको सूत्र
जीवनमा जुनसुकै पेसा रोजे पनि उक्त पेसाप्रति इमान्दार हुनुपर्ने र त्यसप्रति माया हुनुपर्ने कुरामा डिल्ली प्रसाद जोड दिन्छन्।
उनले भने, “जीवनमा जुनसुकै पेशा रोजे पनि त्यसप्रति माया, निरन्तरता, लगनशीलता र इमान्दारिता आवश्यक हुन्छ।”
डिल्ली प्रसाद गडतोलाको यात्रा साधारण पृष्ठभूमिबाट सुरु भएर संघर्ष, जोखिम र निरन्तर प्रयासमार्फत सफलताको शिखरसम्म पुगेको कथा हो। यदि दृढ संकल्प, इमान्दारिता र मेहनतका साथ काम गरियो भने कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा उनको अभिकर्ता यात्राबाट सिक्न सकिन्छ।
आज उनी केवल एक सफल अभिकर्ता मात्र होइनन्, नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि बनेका छन्।







