काठमाडौँ। धेरै युवाहरू रोजगारीको खोजीमा विदेश जान्छन्। कोही सफल भएर फर्किन्छन्, कोही निराश भएर। तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जसले विदेशको अनुभवलाई सिकाइका रूपमा लिएर स्वदेशमै नयाँ सम्भावनाको खोजी गर्छन्। त्यस्तै अब्बल मानसिकताका एक सफल अभिकर्ता हुन्, एसियन लाइफ इन्स्योरेन्सका अभिकर्ता दामोदर लामिछाने।
दामोदर अहिले एसियन लाइफको सुनवल शाखामा कार्यरत छन्। हाल उनी सफल अभिकर्ताका रूपमा चिनिन्छन्। उनले सन् २०२४, २०२५ र २०२६ मा गरी लगातार तीन पटक एमडीआरटी उपाधि समेत हासिल गरेका छन्।
लामिछानेले जीवनका अनेक उतारचढाव पार गर्दै अन्ततः बीमा अभिकर्ता पेसामा आफ्नो पहिचान बनाएर स्थापित भएका छन्। उसो त उनी सफल व्यवसायी पनि हुन्। आउनुहोस्, आज ती नै उदाहरणीय पात्र दामोदर लामिछानेको सफल यात्राको बारेमा चर्चा गरौँ।
उनी पेसागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति एसियन लाईफ इन्स्योरेन्स कम्पनीको बीमक समितीको केन्द्रिय अध्यक्ष पनि हुन् ।
अभिकर्ता पेसामा जोडिनुअघिका संघर्ष
बीमा अभिकर्ता दामोदर लामिछानेले जीवनका अनेक स्वाद चाखेका छन्। उनको कथा विदेश यात्रा, व्यवसायमा सफलता–असफलता, आर्थिक क्षति, पटक–पटक लडेर फेरि उठ्ने साहस र अन्ततः बीमा क्षेत्रमार्फत स्थापित हुने प्रयासका संघर्षहरूले भरिएको छ।
दामोदर लामिछानेको जीवन कुनै सिधा बाटोमा अघि बढेको कथा होइन। उनी सानैदेखि केही गरेर देखाउने सोच राख्थे। उनले जीवनलाई आफ्नै मेहनत र अनुभवले अघि बढाउने सोच बनाएका थिए।
उनी भन्छन्, “मानिसले आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने सोच भएन भने अवसर आफैं आउँदैन। मेहनत र निरन्तर प्रयासले मात्र बाटो खुल्छ।”
यही सोचका साथ उनले युवावस्थामै आफ्नै भविष्यको खोजी गर्न सुरु गरे।
रोजगारीको खोजीमा विदेश यात्रा
नेपालमा केही हुँदैन भन्दै विदेश जानेको लहर देखेपछि दामोदरले पनि विदेशिने निर्णय गरे। उनी दुबई हुँदै युरोपतिर जाने सोचका साथ विदेशिएका थिए। त्यतिबेला धेरै युवाहरूझैँ उनले पनि विदेशलाई राम्रो कमाइ र उज्ज्वल भविष्यको बाटोको रूपमा हेरेका थिए।
दुबईमा उनले करिब दुई वर्ष काम गरे। त्यहाँ बस्दा उनले मेहनत, अनुशासन र कामप्रतिको जिम्मेवारीबारे धेरै कुरा सिके। तर त्यहीँ बसिरहने सोच भने उनमा रहेन। मातृभूमिको प्रेम र देशमै केही गर्न सकिन्छ भन्ने संकल्पले उनलाई अन्ततः विदेशको मोह छोडी नेपाल फर्काएरै छाड्यो।
नेपाल फर्किएपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाए।
पशुपालनबाट व्यवसायिक यात्रा सुरु
नेपाल फर्किएपछि उनले कृषिमा आधारित व्यवसाय सुरु गर्ने निर्णय गरे। गाउँघरको परिवेश र कृषिमा सम्भावना देखेर उनले पशुपालनलाई आफ्नो मुख्य व्यवसाय बनाउने सोच बनाएका थिए।
सुरुवात बंगुरपालनबाट गरे, तर उनले अपेक्षित सफलता भने पाइरहेका थिएनन्। त्यसपछि उनले नयाँ योजना बनाए—बाख्रापालन।
उनले बाख्रा फार्म सुरु गरे। केही समयमै उनको फार्म निकै सफल बन्न पुग्यो। त्यतिबेला उनको बाख्रा फार्म नेपालकै सबैभन्दा उत्कृष्ट फार्म मानिन्थ्यो।
उनले भने, “त्यो समयमा मेरो बाख्रा फार्म देशकै नम्बर १ मध्ये मानिन्थ्यो। व्यवसाय राम्रोसँग चलिरहेको थियो। तर मधेस आन्दोलनका बेला मैले अकल्पनीय क्षति बेहोर्नुपर्यो।”
अकल्पनीय क्षति
व्यवसाय विस्तार हुँदै गइरहेका बेला देशमा मधेस आन्दोलन सुरु भयो। लामो समयसम्म सडक बन्द र यातायात अवरुद्ध हुँदा धेरै व्यवसाय प्रभावित भए। दामोदरको पशुपालन व्यवसायमा पनि त्यसको सिधा असर पर्यो।
पशुचौपायालाई आवश्यक दाना–पानी ल्याउन कठिन भयो। गाउँमै व्यवस्थापन गर्न नसक्दा ठूलो क्षति भयो।
उनी सम्झन्छन्, “त्यो समयमा बाटो एक महिना–डेढ महिना बन्द हुन्थ्यो। दाना–पानी ल्याउनै सकिँदैनथ्यो। त्यसकै कारण एकैचोटि २५० बाख्रा र ५५ सय कुखुरा मरे।”
त्यो घटना उनको जीवनको सबैभन्दा पीडादायी आर्थिक क्षतिमध्ये एक बन्यो। वर्षौँको मेहनतले बनाएको व्यवसाय एकैपटक ध्वस्त भयो। तर त्यो असफलताले उनलाई पूर्ण रूपमा निराश भने बनाएन।
फेरि उठ्ने प्रयास
ठूलो क्षतिपछि पनि उनले हार मानेनन्। उनले फेरि नयाँ सुरुवात गर्ने निर्णय गरे। यसपटक उनले साना व्यापार सुरु गरे। फेन्सी पसलसहित तीनवटा पसल सञ्चालनमा ल्याए। तीमध्ये दुई पसल अहिले पनि सञ्चालनमा छन्। जीवनका यी संघर्षहरुमा श्रीमतीको साथ र सहयोगले नै अगाडी बढ्न सफल भएको उनको भनाई छ।
उनका लागि यो चरण पुनः आत्मनिर्भर बन्ने यात्राको अर्को अध्याय थियो।
बीमा क्षेत्रमा प्रवेश
व्यवसायसँगै उनले नयाँ अवसरको खोजी गरिरहेका थिए। त्यसक्रममा उनको परिवारबाट नै बीमा क्षेत्रसँग परिचय भयो।
उनकी भाउजु पनि एसियन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ता थिइन्। भाउजुकै प्रेरणाबाट उनले बीमा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे। साथै बीमा क्षेत्रमा यसरी स्थापित हुनुमा श्रीमतीको ठुलो साथ तथा हौसला रहेको समेत लामिछानेले बताए।

२०७५ साल वैशाखदेखि लामिछानेले औपचारिक रूपमा बीमा अभिकर्ताको रूपमा काम सुरु गरे। सुरुवाती चरण सजिलो भने थिएन।
उनी भन्छन्, “त्यो समयमा मानिसहरूमा बीमाप्रति विश्वास कम थियो। धेरैले ‘बीमाले पैसा खाइदिन्छ’ भन्ने गलत धारणा राखेका थिए। बीमाका बारेमा छरिएका यस्ता भ्रमको अन्त्य गर्नु मेरा लागि ठूलो चुनौती थियो।”
इमान्दारिता नै सफलताको आधार
अभिकर्ता पेसा केवल आम्दानीको माध्यम मात्र होइन, समाजप्रति उत्तरदायित्व बोकेको सेवा पनि हो।
दामोदर लामिछानेको काम गर्ने शैली अरूभन्दा फरक छ। उनी ग्राहकलाई अवास्तविक आश्वासन दिने पक्षमा छैनन्। बरु उनी व्यक्तिको आवश्यकता बुझेर बीमाका फाइदाबारे स्पष्ट रूपमा बुझाएर बीमा गराउँछन्।
उनका लागि ग्राहकसँगको विश्वास सबैभन्दा ठूलो पूँजी हो।

हजारौँ परिवारसँग जोडिएको जिम्मेवारी
हालसम्म उनले हजारौँ व्यक्तिको बीमा गराइसकेका छन्। उनका अनुसार अभिकर्ताको काम केवल बीमा बेचेर समाप्त हुँदैन। बीमा गरेपछि पनि अभिकर्ताले धेरै जिम्मेवारी वहन गर्नुपर्छ।

ग्राहकलाई नियमित किस्ता तिर्न सम्झाउने, दुर्घटना वा मृत्यु भएमा दाबी प्रक्रियामा सहयोग गर्ने, आर्थिक योजना सम्बन्धी परामर्श दिने लगायतका जिम्मेवारी पूरा गर्नुपर्नेमा उनी जोड दिन्छन्।
उनी भन्छन्, “बीमा अभिकर्ताको काम भनेको दीर्घकालीन सम्बन्ध बनाउने र सम्बन्ध निभाउने काम हो।”
बीमाप्रतिको दृष्टिकोण
लामिछानेका अनुसार बीमाको मुख्य उद्देश्य आर्थिक सुरक्षा हो। उनले विदेशमा बस्दा एउटा कुरा स्पष्ट रूपमा देखेका थिए, मानिसहरू कमाइ त गर्छन्, तर भविष्यको सुरक्षाबारे धेरै सोच्दैनन्।
नेपाल फर्किएपछि उनले महसुस गरे कि बीमा अत्यन्त आवश्यक छ। यदि भविष्यमा कुनै अप्रिय घटना भयो भने बीमाले परिवारलाई ठूलो राहत दिन सक्छ।
जीवनका उत्तरदायित्व—छोराछोरीको पढाइ रोकिन्न, परिवार आर्थिक रूपमा सुरक्षित रहन्छ, ऋण तिर्न सहयोग मिल्छ, दैनिक खर्च चलाउन सहज हुन्छ।
“बीमा भनेको मृत्युको कुरा मात्र होइन। यो जीवनको सुरक्षा हो।”
सामाजिक सेवासँग जोडिएको पेसा
बीमा अभिकर्ता पेसालाई उनी सामाजिक सेवासँग जोडिएको पेसा मान्छन्। किनकि जब कुनै व्यक्तिको जीवनमा संकट आउँछ, त्यतिबेला बीमाले नै आर्थिक सहारा दिन सक्छ।
उनी भन्छन्, “तपाईंले कसैको भविष्य सुरक्षित गरिदिनुहुन्छ। त्योभन्दा ठूलो सन्तुष्टि अरू के हुन सक्छ ?”

बीमाको महत्त्व बुझेर उनले आफ्नै परिवारबाट यसको सुरुवात गरेका छन्। उनले आफ्नी श्रीमती र छोराछोरी सबैको बीमा गराएका छन्।
अभिकर्ता बन्ने प्रक्रिया
उनले अभिकर्ता पेसामा जोडिनका लागि सजिलो प्रक्रिया रहेको बताए। तर त्यसका लागि शैक्षिक योग्यता भने पुगेको हुनुपर्छ। बीमा अभिकर्ता बन्नका लागि निश्चित प्रक्रिया हुन्छ।
हालको नियमअनुसार कम्तीमा प्लस–टु उत्तीर्ण हुनुपर्छ। त्यसपछि तालिम लिएर लाइसेन्स प्राप्त गरी बीमा अभिकर्ता बन्न सकिने लामिछानेको भनाइ छ।
युवाहरूलाई सन्देश
आजको समयमा पनि धेरैजसो युवाहरू रोजगारीको खोजीमा विदेश जाने क्रम रोकिएको छैन। दामोदर लामिछाने भने बेरोजगारी धेरै हदसम्म सोचको समस्या रहेको बताउँछन्।
उनले भने, “यदि सीप सिकेर काम गर्ने सोच बनायो भने अवसर धेरै छन्। बीमा क्षेत्रमा ठूलो सम्भावना छ।” निरन्तर मेहनत गर्न सके अभिकर्ताले राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन्।
उनका अनुसार दिनमा जागिरमा जसरी १० देखि ४ बजेसम्म काम गर्ने हो भने कम्तीमा पनि महिनाको ५० हजार रुपैयाँ वा त्योभन्दा बढी आम्दानी गर्न सम्भव छ।
सबै नेपालीका लागि उनको सुझाव
दामोदर लामिछाने सबै नेपालीलाई सानो रकमबाट भए पनि बीमा सुरु गर्न सुझाव दिन्छन्। उनका अनुसार बीमा गर्न ठूलो रकम आवश्यक पर्दैन। स–सानो बचतबाट पनि बीमा सुरु गर्न सकिन्छ।
उनी भन्छन्, “पैसा धेरै भएपछि मात्र होइन, सानो रकमबाट पनि बीमा गर्न सकिन्छ।”
दामोदर लामिछानेको जीवन यात्रा संघर्ष, धैर्य र निरन्तर प्रयासको उदाहरण बनेको छ। विदेशको अनुभव, व्यवसायमा आएको ठूलो क्षति र पटक–पटकका चुनौतीका बाबजुद पनि उनले हार नमानी नयाँ बाटो खोज्दै अघि बढे। अन्ततः बीमा अभिकर्ता पेसामा प्रवेश गरेर उनले आफूलाई स्थापित मात्र गरेका छैनन्, हजारौँ परिवारलाई आर्थिक सुरक्षा पनि दिएका छन्।

उनको अनुभवले देखाउँछ, असफलता अन्तिम होइन, नयाँ सुरुवातको अवसर हो। स्पष्ट लक्ष्य, मेहनत र इमान्दारिता भए जीवनका कठिन मोडहरू पार गर्दै सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देशले धेरैलाई प्रेरणा दिनेछ।







