काठमाडौं। सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड गरिएको छ। कम्पनीले गत वैशाख ३ देखि ८ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

मागभन्दा धेरै आवेदन परेपछि आईपीओ बाँडफाँड गोलाप्रथा (लटरी) विधिबाट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको थियो। सो अवधिमा कुल २७ लाख ६८ हजार ७४३ आवेदन परेका थिए, जसमध्ये २७ लाख ३० हजार ९८७ आवेदन सदर भएको जानकारी दिइएको छ।

सदर आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने सेयर नपाउने सूचीमा परेका छन्।

आईपीओ बाँडफाँडको नतिजा मेरो सेयर प्लेटफर्म तथा सीडीएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।