काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरेको हो।
यस चरणमा कम्पनीले ७ करोड ४३ लाख रुपैयाँ बराबरका १७ लाख ४३ हजार कित्ता साधारण सेयर सार्वजनिक गरेको छ। उक्त आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ, तर आवश्यक परेमा अवधि बैशाख ३० गतेसम्म लम्ब्याउन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
पहिलो चरणमा कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर छुट्याएर बाँडफाँट गरिसकिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी’ श्रेणीको रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
आईपीओ निष्काशनको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरिरहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने सुविधा उपलब्ध छ।







