काठमाडौं। अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजारमा देखिँदै आएको उतार–चढावलाई स्वीकार गर्दै यस क्षेत्रमा स्थायित्व ल्याउन आवश्यक रहेको जनाएको छ। ‘वर्तमान आर्थिक स्थिति’ सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालयले दोस्रो बजारको कारोबारलाई व्यवस्थित र स्थिर बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेको हो।
मन्त्रालयका अनुसार पूँजीबजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने आवश्यक रहेको छ ।
पूँजी बजारमा २०८२ फागुनसम्म २८६ कम्पनी सूचीकृत रहेका छन् । दोस्रो बजार कारोबारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ । बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहेपनि कारोबार हुन सकेको छैन । २०७३ असारमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत बराबर रहेकोमा २०८२ फागुनमा ७७.७ प्रतिशत बराबर पुगेको छ ।







