काठमाडौँ नेपाल राष्ट्र बैंकले मङ्गलवार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षा मार्फत केन्द्रीय बैंकले धेरै फेरबदल गरेको छैन ।  विशेष गरी शेयर बजारको हकमा लगानीकर्ताको लामो समयदेखि केही मागहरू भए पनि त्यसको सम्बोधन हुन सकेको छैन । लगानीकर्ताको नजरमा मौद्रिक नीतिको समीक्षा कस्तो रह्यो प्रस्तुत छ आर्थिक भ्वाइससँग गरिएको कुराकानी ।

छोटेलाल रौनियार 

समग्रमा हेर्ने हो भने सामान्यतया मौद्रिक नीतिको समीक्षालाई लचिलो मान्न सकिन्छ । यद्यपि सेयर बजारको केशमा भने कपी पेस्ट भएको छ । यसले कुनै हानी नोक्सानी पनि गरेको छैन र फाइदा हुने कुनै नीतिगत परिवर्तन भएको पनि छैन ।

हामीले लामो समयदेखि धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्न पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने माग राख्दै आएका थियौ । साथै,  सेयर कर्जामा लगाइएको क्याप हटाउनु पर्ने र  सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्‍याउने व्यवस्था गर्ने लगायतको विषयमा मौद्रिक समीक्षाले बेवास्ता गरेको छ ।

नयाँ व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ। यसअघि यस्तो दर १.१० प्रतिशत थियो। यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढाउन सहयोग पुराउने छ । प्रोभिजन राख्नुपर्ने रकम कम भएपछि त्यसको सकारात्मक प्रभाव नाफामा पर्नेछ ।जसको कारण बैकिङ क्षेत्रको सूचकमा बढोत्तरी आउने अपेक्षा राखिएको छ ।

मौद्रिक नीतिको समीक्षा निरन्तर प्रक्रिया हो । बजारमा हल्ला गरिए जस्तो व्यापक फेरबदल नभए पनि बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्थ्यो, बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा व्यवस्थालाई थप सहजीकरण हुनुपर्ने थियो, स्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने थियो यो हाम्रो माग पनि हो तर सम्बोधन हुन सकेन ।

मैले माथि पनि भने यसले बजारलाई हानी गर्दैन , बजार घटेर जाने कुनै ठाउँ छैन । यसको बढोत्तरी सुरु भएको छ । अब यसले निरन्तर उचाई लिनेमा सबै लगानीकर्ताको विश्वास छ र त्यो विश्वासको आधार बजारमा देखिएको पनि छ ।

राधा पोखरेल 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत हाम्रो नियमित मागको सम्बोधन त भएको छैन । तथापि नराम्रो पनि केही आएको छैन । हामीले यहाँहरूकै मिडिया मार्फत पनि पटक पटक विभिन्न मागहरूको विषयमा चर्चा गर्दै आएका थियौ । तर पुँजी बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन हुन सकेन। यस पटक पनि विगतको कमजोरी दोहोरिएको आभास भएको छ ।

कुनै पनि देशको पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिने कुरा सम्बन्धित निकायले बिर्सन नहुने थियो । सेयर कर्जामा लगाइएको क्याप हटाउनु पर्ने,भारित औषत पटक पटक परिवर्तन नहुने नीति नियम बनाउनु पर्ने, सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्‍याउने लगायतको विषयमा मौद्रिक नीतिले उपेक्षा गरेको आभास भएको छ ।

तथापि अन्य क्षेत्रमा पनि खासै परिवर्तन भएको देखिएन, केही कुरामा घटबढ भएको छ त्यसले पनि शेयर बजारलाई नोक्सानी हुने ठाउँ भने देखिदैन् । कर्जाको प्रोभिजनदर घटेको छ यसले बैंकको नाफामा सहयोग पुग्ने छ । यसो हुँदा बैकिङ क्षेत्रमा बढोत्तरी आउने यसले अन्य क्षेत्रलाई पनि चलायमान बनाउने अपेक्षा राख्न सकिन्छ ।