काठमाडौं। देशभर निर्वाचन सम्पन्न भएको छ । हाल मतगणना भइरहेको छ । मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहे पनि यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले झण्डै वा सम्भवतः दुई तिहाइकै बाजी मार्ने संकेत हालसम्मको मतपरिणामले देखाइसकेको छ।

यसैबीच राजनीतिमा देखिएको परिवर्तनसँगै सेयर बजारमा त्यसको असर कस्तो पर्ला भन्ने विषयमा आम जिज्ञासा बढेको छ । बजारमा निर्वाचनअघि लामो समय खासै उत्साह देखिएन । लगानीकर्ताको अन्योल र मनोबल दुवै घटेको थियो ।

अब निर्वाचनपछि सेयर बजारको अवस्था के होला ? भन्ने विषयमा आर्थिक भ्वाइसले सेयर लगानीकर्ता छोटेलाल रौनियारसँग कुराकानी गरेको छ ।

नेपाली राजनीतिमा स्थीरताको संकेत

आर्थिक भ्वाइससँग कुरा गर्दै रौनियारले प्रारम्भिक मतपरिणामले देशमा एक दलको स्थिर सरकार बन्ने सम्भावना देखिएको बताए। उनका अनुसार लामो समयपछि नेपाली राजनीतिमा यस्तो अवस्था देखिएको हो। “धेरै वर्षपछि नेपाली राजनीतिमा एक पार्टीको सरकार आउला जस्तो देखिएको छ,” उनले भने।

रौनियारका अनुसार पछिल्लो ३७ वर्षमा नेपालमा करिब ३० पटक प्रधानमन्त्री परिवर्तन भएका थिए। बारम्बार सरकार परिवर्तन हुँदा आर्थिक नीति स्थिर रहन नसक्दा अपेक्षित आर्थिक प्रगति हुन नसकेको उनको तर्क छ।

उनले हालको निर्वाचन परिणामले जनताले नयाँ विकल्प रोजेको सन्देश दिएको बताए।

उनले भने, “शिक्षामा सुधार, रोजगारी सिर्जना, भ्रष्टाचार अन्त्य, गरिबी न्यूनीकरण, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्ने र सुशासन स्थापना गर्ने लगायतका जनताका चाहना पुराना दलबाट पूरा हुन सकेनन् । त्यसैले जनताले नयाँ विकल्प खोजेका हुन्।”

निर्वाचनअघि राजनीतिक अन्योलका कारण थिएन बजारमा उत्साह

रौनियारका अनुसार निर्वाचनअघि राजनीतिक अन्योलका कारण बजारमा गिरावट देखिएको थियो। तर चुनाव हुने संकेत देखिएपछि बजारमा केही सुधार आएको उनको भनाइ छ।

अब राजनीतिक अनिश्चितता हटेकाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने उनले बताए। “नयाँ सरकारले जनताबाट पाएको म्यान्डेटको ५० प्रतिशत मात्रै काम गर्न सके पनि नेपालको प्रगतिका लागि पर्याप्त हुन्छ।” उनले भने।

सेयर बजारमा आशाको सञ्चार

उनले सोमबारदेखि नै बजारमा सुधार देखिन सक्ने अनुमान व्यक्त गरे। यद्यपि नयाँ प्रधानमन्त्री र अर्थमन्त्री नियुक्त भएपछि सरकारले लिने आर्थिक नीति र कार्यक्रमले बजारको दिशा थप स्पष्ट हुने उनको भनाइ छ।

“अब नयाँ नेतृत्वले कस्तो नीति ल्याउँछ भन्ने कुराले बजारलाई अझ प्रभावित पार्छ,” उनले भने, “तर समग्रमा म बजारप्रति आशावादी छु।”

समग्रमा निर्वाचन परिणामले नेपाली राजनीतिमा स्थिरताको सम्भावना बढाएको संकेत देखिएसँगै सेयर बजारप्रति लगानीकर्तामा नयाँ आशा जाग्न थालेको छ। राजनीतिक अनिश्चितता हट्दै गएमा र नयाँ सरकारले स्पष्ट तथा लगानीमैत्री आर्थिक नीति ल्याएमा आगामी दिनमा बजारमा सकारात्मक वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ। त्यसैले अब सेयर बजारको दिशा मुख्यतः नयाँ सरकारको नीति, नेतृत्व र आर्थिक कार्यक्रमले निर्धारण गर्ने देखिन्छ।