काठमाडौँ। नेपालमा डिजिटल बैंकिङ प्रणाली विस्तार हुँदै जाँदा नियो बैंकिङ र भर्चुअल बैंकिङ सम्बन्धी अवधारणाहरू चर्चामा आउन थालेका छन् । नेपाल राष्ट्र बैंकले पनि नवीन प्रविधिमा आधारित बैंकिङ प्रणाली विकास गरिरहेको सन्दर्भमा यी दुई अवधारणाबीचको भिन्नता स्पष्ट हुनु आवश्यक देखिएको छ ।

के हो नियो बैंकिङ ?

नियो बैंकिङ मूलतः पूर्ण रूपमा डिजिटल माध्यमबाट सेवा प्रदान गर्ने बैंकिङ प्लेटफर्म हो, जसले प्रायः आफ्नै बैंकिङ लाइसेन्स बिना परम्परागत बैंकसँग सहकार्य गरी सेवा सञ्चालन गर्छ। यस्ता संस्थाहरूले ग्राहकलाई मोबाइल एप वा वेबसाइट मार्फत खाता व्यवस्थापन, भुक्तानी, बजेट विश्लेषण लगायतका सेवा सहज रूपमा उपलब्ध गराउँछन्।

नियो बैंकको मुख्य जोड प्रयोगकर्ता अनुभव सुधार, छिटो सेवा र न्यून लागतमा केन्द्रित हुन्छ । यो अभौतिक तथा शाखारहित बैंक भएकाले सेवाको पहुँचमा अवरोध हुँदैन ।

के हो भर्चुअल बैंकिङ ?

भर्चुअल बैंक भनेको भौतिक शाखा नभएको तर डिजिटल माध्यमबाट मात्र सञ्चालन हुने, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक हो । यस्ता बैंकले परम्परागत बैंकले दिने सबै बैंकिङ सेवा सुविधाहरू जस्तै निक्षेप संकलन, कर्जा प्रवाह र भुक्तानी डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्छन् । यो आफैँमा एक स्वतन्त्र बैंक हो । शाखारहित भएकाले यसको सञ्चालन लागत कम हुन्छ र सेवा पनि तुलनात्मक रूपमा सस्तो हुन्छ ।

नियो बैंक र भर्चुअल बैंक बीचको भिन्नता

नियो बैंक र भर्चुअल बैंक दुवै डिजिटल बैंक भए पनि यी बीच निम्न भिन्नताहरू रहेका छन् :

क) नियो बैंकले प्रायः अन्य बैंकको लाइसेन्स प्रयोग गर्छ, जबकि भर्चुअल बैंकसँग आफ्नै लाइसेन्स हुन्छ ।

ख) भर्चुअल बैंक कानुनी रूपमा पूर्ण बैंक हो, तर नियो बैंक प्रायः फिनटेक प्लेटफर्म जस्तो हुन्छ ।

ग) दुवै डिजिटल भए पनि भर्चुअल बैंकको नियमन र अधिकार बढी स्पष्ट तथा व्यापक हुन्छ ।

घ) नियो बैंक पार्टनर बैंकमा निर्भर हुने भएकाले अप्रत्यक्ष जोखिम रहन्छ भने भर्चुअल बैंक आफैँ जिम्मेवार हुने भएकाले प्रत्यक्ष जोखिम हुन्छ, तर यसको नियमन तुलनात्मक रूपमा बलियो हुन्छ ।

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

विश्वभर डिजिटल बैंकिङ तीव्र रूपमा विस्तार हुँदै जाँदा नियो बैंकिङ र भर्चुअल बैंकिङ दुवै मोडेलले आ–आफ्नो स्थान बनाएका छन् । विशेषगरी युरोप, अमेरिका र भारत लगायतका बजारमा यी अवधारणाहरू फरक–फरक नियामकीय ढाँचाअनुसार विकास भएका छन् ।

युरोपमा Revolut र N26 जस्ता नियो बैंकहरूले प्रारम्भमा परम्परागत बैंकसँग सहकार्य गर्दै सेवा विस्तार गरेका थिए । पछि कतिपय संस्थाहरूले आफ्नै बैंकिङ अनुमति प्राप्त गरी पूर्ण डिजिटल बैंकका रूपमा विकास भएका छन् । यसले नियो बैंकिङबाट भर्चुअल बैंकिङतर्फ रूपान्तरण सम्भव रहेको देखाउँछ ।

अमेरिकामा Chime जस्ता नियो बैंकहरू लोकप्रिय बन्दै गएका छन्। यिनीहरूले आफैं बैंकिङ अनुमति नलिई साझेदार बैंकमार्फत सेवा दिँदै प्रयोगकर्तामैत्री प्रणाली र न्यून शुल्कका कारण ठूलो ग्राहक आधार निर्माण गरेका छन् ।

भर्चुअल बैंकिङको अभ्यास हङकङ र सिंगापुर जस्ता वित्तीय केन्द्रहरूमा स्पष्ट रूपमा कार्यान्वयन गरिएको छ । हङकङमा Hong Kong Monetary Authority ले छुट्टै भर्चुअल बैंक अनुमति प्रदान गर्दै पूर्ण डिजिटल बैंक सञ्चालनमा ल्याएको छ । यस्ता बैंकहरूले शाखाविहीन तर पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँछन् ।

भारतमा Reserve Bank of India या क्ष्लमष्ब ले नियो बैंकहरूलाई प्रत्यक्ष अनुमति नदिए पनि साझेदारी मोडेलमार्फत सञ्चालन गर्न दिएको छ । Jupiter र Fi Money जस्ता प्लेटफर्महरू यही ढाँचामा आधारित छन् ।

समग्रमा, नियो बैंकिङ र भर्चुअल बैंकिङ दुवै डिजिटल बैंकिङको विकसित रूप भए पनि तिनको संरचना, नियमन र सञ्चालन मोडेलमा स्पष्ट भिन्नता देखिन्छ । अन्तर्राष्ट्रिय अभ्यासले देखाएअनुसार नियो बैंकिङ नवप्रवर्तन र प्रयोगकर्ता अनुभवमा केन्द्रित प्रारम्भिक मोडेलका रूपमा विकसित हुँदै गएको छ भने भर्चुअल बैंकिङ पूर्ण नियामकीय ढाँचाभित्रको दीर्घकालीन र स्थिर बैंकिङ प्रणालीका रूपमा स्थापित भइरहेको छ।

नेपालका सन्दर्भमा नेपाल राष्ट्र बैंकले यी दुवै मोडेललाई समेट्ने गरी स्पष्ट नीति, कानुनी व्यवस्था र नियमन ढाँचा तयार गर्न सके डिजिटल बैंकिङ अझ प्रभावकारी, सुरक्षित र सर्वसुलभ बन्ने अपेक्षा गर्न सकिन्छ। साथै, प्रविधिसँगै जोखिम व्यवस्थापन र उपभोक्ता संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढेमा नेपालको बैंकिङ क्षेत्रले नयाँ उचाइ हासिल गर्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ।