काठमाडौँ। गुल्मी जिल्लाको छत्रकोट–४ मा जन्मिएका गोविन्द पन्थ पछिल्लो समय बीमा क्षेत्रका एक अनुभवी तथा स्थायी रूपमा स्थापित अभिकर्ताका रूपमा परिचित छन्।
हाल भैरहवा, सिद्धार्थनगरमा बसोबास गर्दै आएका पन्थ विगत १४ वर्षदेखि एसियन लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध भएर बीमा अभिकर्ता पेसामा सक्रिय छन्। उनी पेसागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति एसियन लाईफ इन्स्योरेन्स कम्पनीको बीमक समितीका कोषाध्यक्ष समेत हुन् ।
उनको जीवन यात्रा केवल एउटा पेशागत सफलता मात्र होइन, संघर्ष, असफलता, पुनःउत्थान र सामाजिक जिम्मेवारीले भरिएको प्रेरणादायी कथा पनि हो।
यसरी सुरु भयो बीमा अभिकर्ताको यात्रा
गुल्मीको ग्रामीण परिवेशमा जन्मिएका गोविन्द पन्थले आफ्नो बाल्यकाल सामान्य ग्रामीण जीवनशैलीमै बिताएका थिए। जीवनमा केही फरक गर्ने सोचका साथ उनी पछि रोजगारीको अवसरको खोजीमा भारत लगायत विभिन्न मुलुक पुगे।
तर देशमा नभेटिएको खुसी परदेशमा के भेटिन्थ्यो रु समयले उनलाई फेरि स्वदेशमै फर्कायो र अब देशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ उनी स्वदेशमै व्यवसायमा सक्रिय भए।
त्यही दौरानमा उनको जीवन बीमातर्फ मोडिन गयो। बीमा अभिकर्ताको विषयमा उनले गहन अध्ययन गर्दा उक्त पेसामा आफू फिट हुन सक्ने भावना उनमा विकसित भयो।
बीमा एक सामाजिक सेवा जसरी गर्न सकिने काम भएकाले र राज्यलाई कर तिरेर इमान्दारितापूर्वक काम गरी राम्रो आम्दानी गर्न सकिने सम्भावनाले उनलाई बीमातर्फ आकर्षित गरायो।
यसरी उनी आजभन्दा १४ वर्षअघि एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रूपमा जोडिए। हाल एजेन्सी कार्यालय खोली कर्मचारी राखेर सेवा दिइरहेको समेत उनले आर्थिक भ्वाइसलाई जानकारी गराए।
सुरुवाती दिन, संघर्ष र त्यो बेलाको बीमा परिवेश
अभिकर्ता पन्थले सुरुका दिनहरू सम्झँदै त्यतिबेला बीमाप्रति मानिसहरूको विश्वास कम हुने गरेको विगतलाई स्मरण गराए। तत्कालीन समयमा युनिटी लाइफको ठगी प्रकरणका कारण बीमाप्रतिको दृष्टिकोण नै गलत बनिरहेको थियो।
धेरैले बीमालाई “पैसा डुबाउने माध्यम” भन्ने गलत बुझाइ राख्ने गरेको कारण ग्राहकलाई बुझाउन कठिन हुने अवस्था थियो। पन्थका अनुसार त्यो समयमा बीमा अभिकर्ता पेसा अहिलेको भन्दा अत्यन्तै चुनौतीपूर्ण थियो। मानिसहरूलाई बीमाको आवश्यकता बुझाउन धेरै मेहनत गर्नुपर्थ्यो। कतिपय अवस्थामा अस्वीकार, अविश्वास र गलत धारणाहरूको सामना गर्नुपर्थ्यो।
उनले भने, “त्यो समयमा त १ लाख रुपैयाँको पोलिसी बेच्न पनि कठिन हुन्थ्यो। मानिसहरू बीमा लिन हिच्किचाउँथे, विश्वास गर्न समय लाग्थ्यो।” त्यो समयमा बजारमा बीमाको पहुँच सीमित थियो र अभिकर्ताहरूले नै शिक्षा र सचेतना फैलाउनुपर्ने अवस्था थियो।
विदेशबाट फर्किएर संघर्षका अनेक मोड पार गर्दै बीमा क्षेत्रमा जमेका दामोदर लामिछाने
१४ वर्षमा देखिएको परिवर्तन र बीमाप्रतिको सामाजिक दृष्टिकोण
१४ वर्षको यात्रामा बीमा क्षेत्र धेरै परिवर्तन भएको पन्थ बताउँछन्। पहिलेको तुलनामा अहिले मानिसहरूमा बीमाप्रति बुझाइ बढेको छ। आर्थिक सुरक्षा, भविष्यको योजना र परिवारको संरक्षणका लागि बीमा अनिवार्य बन्दै गएको उनले उल्लेख गरे।
उनका अनुसार बीमा केवल मृत्यु पछिको क्षतिपूर्ति होइन, जीवनको सुरक्षा योजना हो। दुर्घटना, रोग, अशक्तता वा आकस्मिक घटनामा बीमाले परिवारलाई ठूलो आर्थिक सहारा प्रदान गर्छ।
१४ वर्षको यो अवधिमा धेरै हदसम्म सचेतना बढेपनि नेपालमा अझै पनि बीमाबारे केही नकारात्मक धारणा कायमै रहेकोप्रति अभिकर्ता पन्थले दुःख व्यक्त गरे। समाजमा अभिकर्ता पेसाप्रति सकारात्मक धारणा बनाउनुपर्ने र राज्यले पनि बीमा अभिकर्तालाई दलालको संज्ञा दिँदै योगदानको अवमूल्यन गर्न नहुने उनको भनाइ छ।
जिम्मेवार र संवेदनशील पेसा
अभिकर्ता पन्थ बीमा अभिकर्ता पेसालाई केवल बिक्री वा कमिसनको दृष्टिले हेर्न नहुने बताउँछन्। यो एक दीर्घकालीन सामाजिक जिम्मेवारी भएको उनको बुझाइ छ।
उनका अनुसार अभिकर्ताको काम पोलिसी बेचेर मात्र सकिँदैन, बरु ग्राहकसँग निरन्तर सम्बन्ध राख्ने, किस्ता बुझाउने सम्झाउने, दाबी प्रक्रियामा सहयोग गर्ने र आर्थिक परामर्श दिने जिम्मेवारी पनि अभिकर्तामै हुन्छ।
उनले भने, “अभिकर्ता ग्राहकसँग जीवनभर जोडिन्छ। सम्बन्ध बनाउनु र निभाउनु नै हाम्रो मुख्य जिम्मेवारी हो।”
अभिकर्ता पेसामा सम्भावना
उनका अनुसार बीमा अभिकर्ता पेसा अहिले पनि ठूलो सम्भावनायुक्त क्षेत्र हो। सही सीप, मेहनत र इमान्दारिता भए यस क्षेत्रमा राम्रो आम्दानी गर्न सकिने उनले बताए।
दिनमा निश्चित समय दिएर काम गर्ने हो भने मासिक रूपमा स्थिर आम्दानी सम्भव हुने उनको भनाइ छ। विदेशिने लहर चलिरहेको वर्तमान अवस्थामा गोविन्द पन्थ युवाहरूलाई नेपालमै अवसर खोज्न आग्रह गर्छन्। उनका अनुसार सीप विकास गरेर स्वदेशमै राम्रो सम्भावना बनाउन सकिन्छ।
“अवसर छैन भन्ने होइन, अवसर देख्ने दृष्टिकोण चाहिन्छ।” उनले भने। उनका अनुसार बीमा क्षेत्रले हजारौँ युवालाई रोजगारी दिने क्षमता राख्छ र भविष्यमा अझ विस्तार हुँदै जानेछ।
गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा संघर्ष, धैर्य र निरन्तर प्रयासको उदाहरण हो। ग्रामीण पृष्ठभूमिबाट सुरु भएको उनको यात्रा आज एक अनुभवी बीमा अभिकर्तासम्म पुगेको छ। बीमा क्षेत्रमा काम गर्दै उनले न केवल आफ्नो जीवनलाई स्थायित्व दिएका छन्, उनी हजारौँ परिवारलाई आर्थिक सुरक्षा दिने माध्यम पनि बनेका छन्।
मेहनत, इमान्दारिता र निरन्तरता भए कुनै पनि पेशामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोविन्द पन्थ।







