काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२ को आरम्भसँगै नेपालको शेयर बजारमा सुधारको संकेत देखिएको छ । लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर रहेको नेप्से परिसूचकमा बढोत्तरी आउन थालेको छ । बैंकिङ प्रणालीमा हाल ब्याजदर ऐतिहासिक रूपमै न्यून विन्दुमा झरेको छ। निक्षेपमा आकर्षण कम हुँदै जाँदा, धेरैजसो लगानीकर्ता शेयर बजारतिर आकर्षित भएका छन्। त्यसमाथि तरलताको प्रशस्त उपलब्धताले गर्दा बैंकहरू धितो कर्जामा झनै सक्रिय बनेका छन्। यसले व्यक्तिगत र संस्थागत लगानीकर्ताहरूलाई सहज रूपमा सस्तो ब्याजदरमा कर्जा लिएर सेयर किन्न प्रेरित गरिरहेको छ ।

यद्यपी बजारको गति र कारोबारको स्थितिलाई ठिक ढङ्गले आकलन गर्न नसकेकै कारण लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । नयाँ गभर्नर र लगानीकर्ताको अपेक्षा , शिथिल अर्थतन्त्र र पुँजी बजारको  सम्बन्ध,लगानीकर्ताको अस्थिरता माथि सुझाव तथा पुँजी बजारको गति प्रक्षेपण लगायतका बिषयमा आर्थिक भ्वाइसले शेयर विश्लेषक तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाललाई सोधेको छ । प्रस्तुत छ ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

वर्ष फेरिएसँगै पुँजी बजार बढ्नुको अर्थ

बजार कहीँ न कहीँ गएर बढ्नु नै पर्थ्यो । झापाको केचनाकवल नेपालको होचो ठाउँ भएझैँ नेपालको पुँजी बजार अहिले एकदमै तल्लो लेभलमा छ । त्यसमा दुई मत नै भएन ।  बैंकमा प्रशस्त मात्रामा तरलतामा छ । हाल बैंकहरुमा ७/८ प्रतिशतमा ब्याज पाइन्छ । हामीले लगानी गरेको ९ महिना भइसक्यो । अबको ३/ ४ महिनामा प्रतिफल आउने बेला पनि भएको छ । राष्ट्र बैंकले नयाँ गभर्नर पनि पाउँदै छ । पहिलेदेखि नै पुँजी बजार बिगारेको भनेको नीतिगत कुराले हो ।

नयाँ आउने गभर्नरले नीतिगत कुरालाई पुनरावलोकन गर्नुहुन्छ भन्ने छ । पुराना गभर्नरले कति गर्न सक्नुभयो, कति कुरा बाँकी राखेर जानुभयो । त्यसैले लगानीकर्ताहरूले अब आउने गभर्नरबाट आशा राखेका छन् । सरकारमा पनि दुई ठुला दल छन् । बजार नबढ्नुपर्ने कारण केही पनि देख्दिनँ । चैत मसान्त सकिएको छ । लगानीकर्तालाई तीन महिना फ्रि भयो । अब पुँजी बजारले लय समातेको छ । अमेरिकाले ठुला देशमा लगाएको ट्यारिफ नेपालका लागि निर्यात सुधार्ने अवसर र सम्भावना बनेर आएको छ ।

 शिथिल अर्थतन्त्र र पुँजी बजारको सम्बन्ध

पुँजी बजार बढेर जाने थुप्रै आधारहरू छन् । यसकारण यो दुई बिच गहिरो सम्बन्ध हुने नै भयो ।  हिजो डढेलो लागेको जङ्गलमा नयाँ मुना पलाउने हो । अर्थतन्त्र हिजो खराब थियो भनेर सधैँ खत्तम भएर बस्न छुट छैन । अर्थतन्त्रमा वृद्धि हुँदै गएको छ । बिस्तारै सुध्रिँदै गएको छ। पर्यटन, जलविद्युतको क्षेत्रमा विकास भइरहेको छ । सधैँ भरि अर्थतन्त्र खत्तम छ भनेर बसिरहन हामीलाई छुट छैन । अबका नेताहरूले ध्यान दिने भनेको आर्थिक क्रान्तिमा नै हो । कृषि, हाइड्रोपावर, पर्यटन क्षेत्रमा हो । पूर्वाधार पनि बिस्तार भइरहेका छन् ।

नयाँ गभर्नर र लगानीकर्ताको अपेक्षा

नयाँ गभर्नरबाट ठूलो आशा छ । बैंकमा प्रशस्त मात्रामा पैसा छ । तर लगानी हुन सकेको अवस्था छैन । अर्थतन्त्र बिग्रिएको अवस्थामा छ । नयाँ आउने गभर्नरले अर्थतन्त्रलाई चलायमान गराउने किसिमको मौद्रिक नीति ल्याउनुहुनेछ भन्ने आशा छ । पुँजी बजारमा रिस्क वेटेज र क्यापका कुरा हटाउनुहुनेछ भन्ने आशा छ । बैंक र वित्तीय संस्थामा पैसा छ तर लगानी गर्न सकेको छैन । राष्ट्र बैंकले गर्ने कुरा नै यिनै हुन् । अन्य कुरा त धितो पत्र बोर्डसँग हुन्छ पुँजी बजारका कुरा । २०७८ साल भाद्र ८ गते आएको पोलिसीमा पुनरावलोकन हुन्छ भन्ने आशा छ । एकदमै आशावादी छु । सयमा सय प्रतिशत नै आशावादी छु ।

लगानीकर्ताको अस्थिरता माथि सुझाव

लगानी गर्दा सचेत भएर लगानी गर्नु पर्छ । मूल्य बढ्दा हौसिने र गिरेपछि आत्तिने गर्नुहुँदैन । पुँजी बजारमा लगानी गर्नेले धैर्यता राख्नुपर्छ । धैर्यता गुमाइएन भने कमाउन सकिन्छ । पुँजी बजारमा एक दिन बढ्दैमा ओहो मैले त संसारै पैसा कमाए भनेर उफ्रिँदै हिँड्नु भएन । एक दिन घट्दैमा सबै सकिने पनि होइन । धैर्यता र संयमता राख्नुपर्छ । आज रोपेको बिरुवाले त फल दिन छ महिना वा वर्ष दिन लगाउँछ । पुँजी बजार पनि त्यस्तै हो । धैर्यता गुमाउनु हुँदैन । आजको भोलि नै प्रतिफल आइहाल्छ भन्ने सोच राख्ने हो भने दुःखदायी अवस्था आउँछ । लगानीकर्ताले सुझबुझका साथ लगानी गर्ने हो भने पीडादायी अवस्था आउँदैन । आफू सचेत हुनुपर्छ ।

पुँजी बजारको गति प्रक्षेपण 

मार्केट भर्खर बढ्दै छ । कहाँ पुग्छ भनेर तत्काल भन्न सकिँदैन । तर लय भने समातेको छ। नयाँ आउने गभर्नरले पोलिसीमा पुनरावलोकन गर्नुपर्छ । उहाँले हामीले भनेका कुरा रिभाइज गर्नुभयो भने पुँजी बजारले पुरानो ३२०० को सूचकांक आगामी असार मसान्तसम्म पार गर्न सक्छ । त्यसका प्रशस्त आधारहरू छन् । बैंकमा पैसा छ । तरलता छ । यो बेलामा पनि पुँजी बजारमा लगानी नगरे कहिले गर्ने हो र ?