काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि आफू अध्यक्ष पदमा नरहे पनि सक्रिय राजनीतिबाट बाहिरिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
रुकुम पश्चिममा आयोजित विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीमा अब क्रमशः नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्ने तयारी भइरहेको बताए। उनले संगठनमा युवाको सहभागिता कम्तीमा ५० प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए।
प्रचण्डले भने, “अब पुराना पुस्ताले जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्ने समय आएको छ। म अध्यक्ष वा संयोजक बन्ने इच्छा राख्दिनँ, तर राजनीति छोड्ने सोच छैन।”
उनले आफू राजनीतिक यात्राबाट पछि हट्ने नभई अझ सक्रिय रूपमा योगदान जारी राख्ने उल्लेख गर्दै “एउटा ठूलो परिवर्तन र उथलपुथल गर्ने उद्देश्यसहित राजनीति अघि बढाउने” धारणा राखे।
उनका अनुसार नेतृत्व पदमा नभए पनि प्रभावशाली भूमिकामा रहन सकिने उदाहरण विश्वका नेताहरूले देखाइसकेका छन्। उनले माओ त्सेतुङ, तेङ स्याओ पिङ, नेल्सन मण्डेला र महात्मा गान्धीको उदाहरण दिँदै विचार र प्रभाव नै वास्तविक नेतृत्व हुने बताए।
प्रचण्डले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै विगतका आन्दोलन, जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान निर्माण प्रक्रियामा आफ्नो नेतृत्वको भूमिका उल्लेख गरे।
उनले पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र नयाँ पुस्ताको प्रशिक्षणलाई आगामी प्राथमिकता बनाउने संकेतसमेत दिए।







