काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य सुधारसहित १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा संस्थाले ६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भई ६२ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५० करोड ८० लाख रुपैयाँको तुलनामा २२.४५ प्रतिशतले बढी हो।

तर, संस्थाको इम्पेयरमेन्ट चार्ज भने बढेर १६ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १५ करोड ४४ लाख रुपैयाँ थियो। यससँगै खराब कर्जा अनुपात पनि ४.९७ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको देखिएको छ।

रिटेन्ड अर्निङतर्फ संस्थाले ठूलो सुधार गरेको छ। अघिल्लो वर्षको ४ करोड ८५ लाख रुपैयाँबाट बढेर यो वर्ष १४ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन २०७ प्रतिशतभन्दा बढी वृद्धि हो। त्यस्तै, रिजर्भ पनि ३४ करोड २७ लाख रुपैयाँबाट बढेर ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

निक्षेप तथा कर्जाको क्षेत्रमा पनि वृद्धि देखिएको छ। निक्षेप ३ अर्ब ११ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १० अर्ब १५ करोड रुपैयाँबाट बढेर ११ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य नाफा पनि १४ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन २०७ प्रतिशतभन्दा बढीको वृद्धि हो। यससँगै लाभांश क्षमता ६.६२ प्रतिशतबाट बढेर १८.५७ प्रतिशत पुगेको छ।

वित्तीय सूचकहरू अनुसार संस्थाको प्रतिसेयर आम्दानी (EPS) २९.२८ रुपैयाँ, नेटवर्थ १६३.९२ रुपैयाँ, कुल सम्पत्तिको मूल्य १,५००.०१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३९.१८ गुणा र तरलता अनुपात ५.२९ प्रतिशत कायम भएको छ।