काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४८.२७ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले  ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

साथै, संस्थाले यस अवधिमा ७३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.४७ प्रतिशतले धेरै हो। अघिल्लो आवमा संस्थाले ४४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्रैमाससम्मको अवधिमा संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १० करोड ३१ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर ११ करोड ३२ लाख पुगेको छ। संस्थाको कुल सञ्चालन आम्दानी ५०.०५ प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ३० करोड १६ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म २ अर्ब ८० करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट बढेर १० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १० करोड २ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ । संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.७५ प्रतिशतले बढी हो।

संस्थाको रिटेन्ड अर्निङ ६२.६९ प्रतिशतले बढेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १६ करोड ३६ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ३२ करोड ५६ लाख रुपैयाँबाट बढेर ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २८.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२२.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३१.३८ गुणा कायम भएको छ ।