काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तीव्र बनेपछि विपक्षी दलहरूले महँगी नियन्त्रणका लागि सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।

बिहीबार नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले पछिल्लो समय दाल, चामल, तरकारी, फलफूल, मसला तथा तेललगायतका खाद्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो।

बैठकले जारी गरेको निर्णयमा भनिएको छ, “दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको छ। यसले आम उपभोक्ता, विशेषगरी गरिब, मजदुर, किसान र सिमान्तकृत समुदायलाई प्रत्यक्ष असर पारेको छ।”

विपक्षी दलहरूले महँगी र कालोबजारी नियन्त्रण गर्न तथा प्रभावित वर्गलाई राहत दिन सरकारले सार्वजनिक वितरण प्रणाली प्रभावकारी रूपमा लागू गर्दै सुपथ मूल्य पसलहरू सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

बैठकमा एमालेका नेता दंगालसँगै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक युवराज दुलाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।