काठमाडौं। नयाँ वर्ष २०८३ सुरु भएसँगै देशको आर्थिक अवस्था, रोजगारी, लगानी वातावरण र व्यक्तिगत वित्तीय व्यवस्थापनबारे चर्चा सुरु भएको छ ।

एकातर्फ सरकार आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारीमा जुटिरहेको छ भने अर्कोतर्फ निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र आम नागरिकले पनि आफ्ना आर्थिक योजना बनाउन थालेका छन् ।

बढ्दो महँगी, रोजगारीका चुनौती, लगानीका नयाँ अवसर तथा वैश्विक आर्थिक अनिश्चितताबीच नेपाली नागरिक कसरी वित्तीय रूपमा सबल बन्न सक्छन् भन्ने प्रश्न अहिले झनै महत्वपूर्ण बनेको छ ।

यही सन्दर्भमा आर्थिक भ्वाइसले अर्थविद् डा। चन्द्रमणि अधिकारीसँग कुराकानी गरेको छ । अधिकारीले नयाँ वर्ष २०८३ लाई आर्थिक सुधार, लगानी विस्तार र संरचनात्मक सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

आर्थिक भ्वाइससँगको कुराकानीमा उनले नेपालले अहिले चुनौती र अवसर दुवै सामना गरिरहेको उल्लेख गर्दै नीति, सुशासन र उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए ।

नयाँ वर्षः अवसर र चुनौती दुवैको मिश्रण

अर्थविद् अधिकारीका अनुसार नयाँ सरकार बनेसँगै आर्थिक सुधारका अपेक्षा बढेका छन् । तर सुशासन, राजनीतिक स्थिरता र नीतिगत निरन्तरता सुनिश्चित नभएसम्म अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उनको भनाइ छ ।

“देशमा अवसर पनि छन्, चुनौती पनि छन् । अब यी अवसरलाई कसरी उपयोग गर्ने भन्ने कुरा नै मुख्य हो,” उनले भने ।

उनले विश्वमा भइरहेका पछिल्ला युद्धका घटनाले अर्थतन्त्रमा पारिरहेको प्रभावलाई मुख्य चुनौतीका रूपमा उल्लेख गरे भने देशमा राजनीतिक स्थिरताको संकेत देखिइरहेको अवस्थामा आर्थिक वातावरणमा नयाँ अवसरहरू सिर्जना गर्नुपर्ने सुझाव दिए ।

उत्पादन र बजार विस्तार आवश्यक

उनले नेपालमा उत्पादन वृद्धि गर्न र बजार विस्तार गर्न आवश्यक रहेको बताए । कृषि, उद्योग र सेवा क्षेत्रलाई समान रूपमा विकास नगरी आर्थिक समृद्धि सम्भव नहुने उनको भनाइ छ ।

उनका अनुसार उत्पादन भएको वस्तुको बजार सुनिश्चित नभएसम्म लगानी दीगो हुँदैन ।

साना व्यवसाय र सीप विकासमा ध्यान दिन सुझाव

अर्थविद् अधिकारीले युवाहरूलाई सुरुमा साना व्यवसाय वा सीपमूलक क्षेत्रमा प्रवेश गर्न सुझाव दिएका छन् । “पहिला सानो व्यवसायबाट सुरु गरेर अनुभव बटुल्दै अघि बढ्नु उपयुक्त हुन्छ,” उनले भने ।

उनका अनुसार रोजगारी, उद्यमशीलता र प्रविधि क्षेत्रमा अवसर बढ्दै गएको छ र यसतर्फ ध्यान दिन आवश्यक छ ।
उनले व्यक्तिहरूले आफ्नै रुचि, क्षमता र सम्भावनाको मूल्यांकन गरेर मात्र लगानी वा व्यवसाय छनोट गर्नुपर्ने बताए ।

“आफ्नो रुचि र क्षमताअनुसार काम छनोट गर्न सके सफलता प्राप्त गर्न सहज हुन्छ,” उनले स्पष्ट पारे ।

नीतिगत स्थिरता आवश्यक

अधिकारीले बैंकिङ, ऋण प्रणाली र लगानी वातावरणमा पनि सुधार आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार साना व्यवसायीका लागि वित्तीय पहुँच अझै सहज हुन सकेको छैन ।

उनले आर्थिक विकाससँगै सुशासन र सामाजिक व्यवहारमा सुधार गर्न पनि आवश्यक रहेको बताए । पछिल्लो समय समाजमा नकारात्मक सोच र हिंसात्मक घटनाहरू बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

“मानिसमा सकारात्मक सोच र विश्वासको वातावरण बनाउनु पनि विकासको हिस्सा हो,” उनले भने ।

अधिकारीका अनुसार दीर्घकालीन विकासका लागि नीतिगत स्थिरता अनिवार्य छ। सरकार परिवर्तनसँगै नीति फेरिने प्रवृत्तिले विकासमा बाधा पुर्‍याउने उनको भनाइ छ। त्यसैले राजनीतिक स्थिरताको संकेत देखिएको यो समयमा नीतिगत स्थिरता कायम गर्दै अघि बढ्न अर्थविद् अधिकारीले सुझाव दिएका छन्।

नयाँ वर्ष २०८३ ले नेपालका लागि आर्थिक सुधार, लगानी विस्तार र रोजगारी सिर्जनाका महत्वपूर्ण अवसरहरू लिएर आएको छ। तर यी अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्न नीति स्थिरता, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फको स्पष्ट मार्ग आवश्यक देखिन्छ।

अर्थविद् चन्द्रमणि अधिकारीका अनुसार सरकार, निजी क्षेत्र र नागरिक सबैले आ–आफ्नो भूमिकामा सुधार गर्दै अघि बढेमा मात्र आर्थिक चुनौतीलाई अवसरमा बदल्न सकिन्छ। समग्रमा, सही नीति, सकारात्मक सोच र दीर्घकालीन दृष्टिकोण अपनाउन सके नयाँ वर्ष देशको आर्थिक प्रगतिको आधार बन्न सक्ने देखिन्छ।