काठमाडौँ । आगामी वैशाख ५ गतेदेखि सान्भी इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको  जनाएको छ ।

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त  शेयर खरिदका लागि इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.१० माई गोजमाई गाउँपालिका वडा नं.३ र ४ स्थायी बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द वैशाख १९ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।