काठमाडौं । पुँजी बजारमा लामो समयदेखि देखिँदै आएको नियामक अन्यौलता क्रमशः हट्दै गएसँगै प्राथमिक सेयर बजार पुनः चलायमान बन्दै गएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व अभावका कारण केही वर्ष सुस्त बनेको सेयर निष्कासन प्रक्रिया नयाँ नेतृत्व आएपछि तीव्र रूपमा अघि बढ्न थालेको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै सेबोनले १२ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डको तथ्यांकअनुसार पुस २० गतेसम्म अनुमति पाएका यी कम्पनीहरूले कुल २५ अर्ब ३४ करोड २४ लाख रुपैयाँ बराबरको २५ करोड ३४ लाख कित्ता सेयर निष्कासन गर्न पाउने भएका छन्। यो अघिल्ला वर्षहरूको तुलनामा उत्साहजनक सुधार मानिएको छ। आर्थिक वर्ष २०८०/८१ मा जम्मा ९ वटा र २०८१/८२ मा १५ वटा कम्पनीले मात्र आईपीओ स्वीकृति पाएका थिए।
स्वीकृति पाउने कम्पनीहरूमा जलविद्युत, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटनजस्ता विविध क्षेत्र समेटिएका छन्, जसले प्राथमिक बजारमा क्षेत्रगत विविधता बढ्दै गएको संकेत गर्छ। उत्पादन तथा प्रशोधन क्षेत्रको सागर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनपछि दोस्रो बजारमा कारोबारसमेत सुरु गरिसकेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज पनि सेयर कारोबारमा प्रवेश गरिसकेको छ।
त्यस्तै एसवाइ प्यानल नेपाल, सोलु हाइड्रोपावर, सालपा विकास बैंक, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टलगायत कम्पनीहरूले सेयर निष्कासन प्रक्रिया अघि बढाइरहेका छन्।
आईपीओसँगै थप सार्वजनिक निष्कासन (एफपीओ) र हाइब्रिड प्रकृतिका वित्तीय उपकरणहरूको प्रयोग पनि बढ्दो क्रममा छ। विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति पाएको छ भने नबिल बैंक, कामना सेवा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकले अविमोच्य असंचिति अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासनका लागि सेबोनबाट स्वीकृति पाइसकेका छन्।
यद्यपि, सेबोनको सक्रियताबीच पनि ठूलो संख्यामा कम्पनीहरू अझै स्वीकृतिको पर्खाइमा रहेका छन्। पुस २४ गतेसम्मको विवरणअनुसार ८५ वटा कम्पनी ५५ अर्ब ६ करोड रुपैयाँ बराबरको ३८ करोड ५७ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा छन्। तीमध्ये सबैभन्दा बढी ३७ वटा जलविद्युत कम्पनी रहेका छन् भने उत्पादन तथा प्रशोधन २२, होटल तथा पर्यटन ९, लगानी ४, लघुबीमा ३ र अन्य विभिन्न क्षेत्रका ११ कम्पनी रहेका छन्।







