काठमाडौँ। मध्यपूर्व तनावका कारण नेपाली बजारमा पनि खाना पकाउने एलपी ग्यासको अभाव गहिरिँदै जाँदा विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्न थालेको छ।
धेरै ठाउँमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नभएको गुनासो बढेको छ भने कतिपय क्षेत्रमा सीमित आपूर्ति र कालोबजारीसम्बन्धी चर्चा समेत भइरहेको छ। नेपाल आयल निगमले हाल आधा सिलिण्डर बेचिरहेको अवस्था छ।
अन्तर्राष्ट्रिय परिवेशले यस समस्यालाई जटिल बनाएको देखिन्छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा इरान, इजरायल र अमेरिकाबीच बढ्दो तनावका कारण विश्व ऊर्जा आपूर्ति प्रणालीमै अस्थिरता देखिएको छ।
यसको असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा प्रत्यक्ष रूपमा परिरहेको छ, जहाँ भान्सामा अत्यावश्यक मानिने एलपी ग्यासको आपूर्ति अनिश्चित बन्दै गएको छ।
ऊर्जा सुरक्षाबारे नयाँ बहस, वैकल्पिक ऊर्जाको प्रयोगमा ध्यानाकर्षण
नेपालका अधिकांश घरपरिवार खाना पकाउन एलपी ग्यासमै निर्भर छन्। तर पछिल्ला दिनमा ग्यास संकट गहिरिँदै जाँदा ऊर्जा सुरक्षाबारे नयाँ बहस सुरु भएको छ। दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रयोगतर्फ ध्यान दिनुपर्ने आवश्यकता अहिले झन् स्पष्ट बन्दै गएको छ।
यस्तो अवस्थालाई केवल संकटको रूपमा होइन, अवसरको रूपमा पनि हेर्न सकिने विज्ञहरूको धारणा छ। आयातित ग्यासमाथिको निर्भरता घटाउँदै देशमै उत्पादन भएको विद्युत्को प्रयोग बढाउने दिशामा अघि बढ्न यो उपयुक्त समय हुन सक्ने विज्ञहरूको धारणा छ।
नेपालमा जलविद्युत, सौर्य तथा वायु ऊर्जाको राम्रो सम्भावना रहेको छ। यी स्रोतबाट उत्पादन भएको विद्युत् उद्योग वा निर्यातमा मात्र सीमित नगरी घरायसी प्रयोजनमा पनि व्यापक रूपमा उपयोग गर्न सकिने सन्देश जनतासम्म पुर्याउन आवश्यक देखिएको छ।
भान्सामा मात्र होइन, विद्युतीय सवारी साधनको प्रयोग विस्तार तथा अन्य सम्भावित क्षेत्रहरूमा विद्युत् खपत बढाउने रणनीति अहिलेको सन्दर्भमा महत्वपूर्ण बन्न सक्छ। यसका लागि नीति निर्माण, योजना तथा कानुनी संरचना पनि सोही अनुसार केन्द्रित हुनुपर्ने देखिन्छ।
नेपालले जलविदुयुतको सदुपयोग गर्न सक्ने
हाल नेपालमा करिब ४ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ। आन्तरिक खपत कम हुँदा उत्पादन भएको विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको छ। यदि घरायसी प्रयोगमै विद्युत्को खपत बढाउन सकिएमा आन्तरिक बजार विस्तार हुनुका साथै ऊर्जा सुरक्षा पनि सुदृढ बन्नेछ।
त्यसैगरी, घरेलु ऊर्जा प्रयोग बढेमा आयातित इन्धनमा खर्च हुने ठूलो विदेशी मुद्रा जोगिनुका साथै दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्युतीय चुलोको कारोबार बढ्दो
ग्यास अभावसँगै उपभोक्ताहरू वैकल्पिक साधनतर्फ आकर्षित हुन थालेका छन्। पछिल्लो समय बजारमा विद्युतीय चुलो, इलेक्ट्रिक जग र राइस कुकर जस्ता उपकरणको माग उल्लेखनीय रूपमा बढेको व्यवसायीहरू बताउँछन्।
काठमाडौँका विभिन्न स्थानमा रहेका खुद्रा तथा होलसेल पसलहरूमा यस्ता उपकरणबारे सोधपुछ र खरिद दुवै बढिरहेको छ। बानेश्वरमा विद्युत् सामग्रीको व्यापार गर्दै आएका एक व्यवसायीका अनुसार ग्यास अभाव देखिएपछि ग्राहकहरूको चाप उल्लेखनीय रूपमा बढेको छ।
विशेषगरी कलेज पढ्न सहर आएका विद्यार्थीहरूबीच विद्युतीय चुलोको प्रयोगप्रति चासो बढेको देखिन्छ। एकै सिलिण्डरमा निर्भर रहने उनीहरूलाई ग्यास सकिएपछि तुरुन्तै अर्को पाउन कठिन हुने भएकाले उनीहरूले विद्युतीय विकल्प रोज्न थालेका हुन्।
यसका कारण पछिल्ला दिनहरूमा साना विद्युतीय उपकरणहरूको बिक्रीमा वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा १ लाख ३२ हजारभन्दा बढी इन्डक्सन चुलो आयात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात करिब १ लाख ११ हजार ६ सय थान रहेको थियो। एलपीजीको मूल्य नघटे र उपलब्धता सुनिश्चित नभए इन्डक्सनको आयात बढाउनुपर्ने देखिन्छ।
यी हुन् प्रचलनमा रहेका विद्युतीय चुलोका प्रकार
ग्यास अभावसँगै विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा बजारमा उपलब्ध चुलोबारे जानकारी राख्नु पनि उपभोक्ताका लागि आवश्यक बन्दै गएको छ। नेपाली बजारमा अहिले Baltra, Yasuda, Prestige, Philips, Ageno, CG जस्ता ब्राण्डका चुलोहरू सजिलै पाइन्छन् । नेपालमा इन्फ्रारेड र इन्डक्सन चुलो बढी प्रचलनमा छन् ।
इन्डक्सन चुलो
सबैभन्दा लोकप्रिय प्रकार इन्डक्सन चुलो हो। यसमा चुम्बकीय प्रविधिको प्रयोग गरी भाँडोमै सिधै ताप उत्पन्न गरिन्छ, जसले गर्दा ऊर्जा बचत हुने र खाना छिटो पक्ने हुन्छ। तर, यसका लागि फलाम वा स्टिलका विशेष प्रकारका भाँडा आवश्यक पर्छन्।

इन्फ्रारेड चुलो
त्यसैगरी, इन्फ्रारेड (ह्यालोजन) चुलो पनि बजारमा पाइन्छ। यसमा ताप उत्पादन गर्न रेडिएसनको प्रयोग गरिन्छ र कुनै पनि प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ। इन्डक्सनभन्दा केही बढी विद्युत खपत हुने भए पनि यसको प्रयोग सजिलो हुने भएकाले धेरैले रोज्ने गरेका छन्।

अर्को प्रकार सिरामिक चुलो हो, जसमा माथिल्लो भाग समथर काँचजस्तो हुने र भित्रको हीटिङ एलिमेन्टमार्फत ताप उत्पन्न हुने गर्छ। यसको डिजाइन आकर्षक हुने र सफा गर्न सजिलो हुने भए पनि मूल्य तुलनात्मक रूपमा महँगो पर्न सक्छ।
इन्फ्रारेड राम्रो कि इन्डक्सन राम्रो ?
उपभोक्ताहरूबीच अझै पनि एउटा प्रश्न यथावत् छ : इन्डक्सन राम्रो कि इन्फ्रारेड ? यस प्रश्नको उत्तर “यो नै राम्रो” भन्नेभन्दा पनि प्रयोग, आवश्यकता र प्राथमिकतामा निर्भर हुन्छ । यी दुई चुलोका विशेषता बुझ्दा छनोट सजिलो हुन्छ । त्यसैले आउनुहोस् यीनीहरुको विशेषता बुझौँ।

तापक्रम र खाना पकाउने आधारमा
छिटो खाना पकाउने हिसाबले इन्डक्सन अगाडि देखिन्छ । यसले छोटो समयमा उच्च ताप दिन सक्छ, जसले झोलयुक्त परिकार छिटो पकाउन सजिलो बनाउँछ । तर ताप मुख्यतया बीच भागमा केन्द्रित हुने भएकाले कहिलेकाहीँ खाना राम्ररी नपाक्ने वा बढी पाक्ने हुनसक्छ।
इन्फ्रारेडमा भने ताप क्रमशः बढ्दै जान्छ र समान रूपमा फैलिन्छ । यसले ग्यास चुलोजस्तै अनुभव दिने भएकाले धेरैलाई प्रयोग गर्न सहज लाग्छ, विशेष गरी फ्राइ वा रोस्ट गर्ने खाना बनाउन यो बढी उपयुक्त हुन्छ।
भाँडाको प्रयोगका आधारमा
इन्डक्सनमा फलाम वा स्टेनलेस स्टिलका भाँडा मात्र प्रयोग गर्न मिल्छ । अन्य भाँडा काम लाग्दैनन् । इन्फ्रारेडमा भने कुनै पनि प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ, जुन यसको ठूलो फाइदा हो ।
बिजुली खपतका आधारमा
दुवै चुलो करिब २००० वाट क्षमताका हुन्छन् । तर इन्डक्सनले सिधै भाँडा तताउने भएकाले तुलनात्मक रूपमा कम बिजुली खर्च गर्छ । इन्फ्रारेडमा केही बढी ऊर्जा खपत हुने देखिन्छ ।
सुरक्षाका हिसाबले
सुरक्षाको हिसाबले इन्डक्सन अलि बढी सुरक्षित मानिन्छ । भाँडा नराख्दा चल्दैन र हटाउँदा आफैं बन्द हुन्छ ।
इन्फ्रारेड भने बन्द गरेपछि पनि केही समयसम्म तातो रहन्छ, जसले विशेष गरी बालबालिकाका लागि जोखिम बढाउन सक्छ ।
स्वास्थ्य र रेडियसनका आधारमा
इन्फ्रारेड चुलोमा चुम्बकीय विकिरण हुँदैन । इन्डक्सनमा भने केही मात्रामा चुम्बकीय प्रभाव हुने भएकाले विशेष गरी मुटुका बिरामीले सावधानी अपनाउनुपर्ने सुझाव दिइन्छ ।
सरसफाइ र टिकाउपनका आधारमा
इन्डक्सन चुलो सफा गर्न सजिलो हुन्छ, किनभने यसको सतह धेरै तात्दैन । टिकाउपनको हिसाबले इन्फ्रारेड लामो समय (झण्डै १० वर्ष) टिक्न सक्छ भने इन्डक्सन औसतमा ५ वर्षसम्म चल्ने बताइन्छ ।
मूल्य र समग्र खर्चका आधारमा
इन्फ्रारेड चुलोको मूल्य अलि बढी हुन सक्छ । तर इन्डक्सन प्रयोग गर्न छुट्टै उपयुक्त भाँडा किन्नुपर्ने भएकाले कुल खर्च जोड्दा इन्डक्सन पनि महँगो पर्न सक्छ । यदि तपाईंलाई छिटो खाना पकाउने, कम बिजुली खर्च र सुरक्षित विकल्प चाहिएको छ भने इन्डक्सन उपयुक्त हुन सक्छ ।
तर ग्यासजस्तै अनुभव, सबै भाँडामा पकाउने सुविधा र समान ताप चाहिन्छ भने इन्फ्रारेड राम्रो विकल्प हुन सक्छ । अन्ततः, “कुन राम्रो” भन्दा पनि “तपाईंको प्रयोगका लागि कुन उपयुक्त” भन्ने आधारमा निर्णय गर्नु नै बुद्धिमानी हुन्छ ।
आत्मनिर्भर उर्जा स्रोतको दीर्घकालीन प्रयोगमा जोड दिन आवश्यक : इप्पानका उपमहासचिव दुलाल
इप्पानका उपमहासचिव प्रकाश दुलालका अनुसार नेपालमा चुलोका विषयमा बिजुली प्रयोग विस्तार गर्ने विषय नयाँ होइन, तर संकटका बेला मात्र यसले प्राथमिकता पाउने गरेको छ।
आर्थिक भ्वाईससँग कुरा गर्दै उनले भने, “ग्यासलाई प्रतिस्थापन गर्ने, खाना पकाउन बिजुली प्रयोग गर्ने कुरा नयाँ होइन, यी विषय दस वर्षदेखि उठ्दै आएका हुन्। यस्ता पहलहरू विशेषगरी यस्तै कठिन समयमा अघि बढ्ने गरेका छन्।”
मध्यपुर्व तनावका कारण ग्यासको अभाव हुन थालेपछि विद्युतीय चुलोको बहस फेरि सतहमा आएको दुलालको भनाई छ। उनका अनुसार अहिलेको ग्यास अभावले ऊर्जा प्रयोगमा आत्मनिर्भर स्रोततर्फ उन्मुख हुने अवसर समेत दिएको छ।
उनले यसलाई केवल ग्यास संकटको प्रतिक्रिया मात्र नभई दीर्घकालीन ऊर्जा रणनीतिसँग जोडेर हेर्नुपर्ने बताए।
नेपालमा उत्पादन भइरहेको विद्युतको पूर्ण उपयोग हुन नसकेको अवस्थामा आन्तरिक खपत बढाउनु अनिवार्य भएको उनको धारणा छ।
“प्रतिव्यक्ति विद्युत खपत दर बढाउनु नै मुख्य लक्ष्य हो,” उनले भने, “त्यसका लागि भान्सादेखि अन्य क्षेत्रसम्म विद्युतीय प्रयोग विस्तार गर्नुपर्छ।”
उनका अनुसार आयातित ग्यासमा निर्भरता घटाउँदै स्वदेशमै उत्पादन भएको विद्युत् प्रयोग बढाउन सकेमा आर्थिक र ऊर्जा दुवै हिसाबले फाइदा हुनेछ।
दुलालले भने, “विद्युत प्रयोग बढे विदेशी मुद्रा बचत हुन्छ र ऊर्जा सुरक्षामा पनि मजबुती आउँछ।”
दुलालले नीति निर्माण तहबाट स्पष्ट रणनीति आवश्यक रहेको पनि औंल्याए। “यदि राज्यले प्रोत्साहन र सहज वातावरण बनायो भने उपभोक्ता आफैं विद्युतीय विकल्पतर्फ आकर्षित हुन्छन्।”
उनका अनुसार अहिले देखिएको संकटलाई दीर्घकालीन समाधानतर्फ मोड्न सकेमा नेपालले ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न सक्नेछ।







