काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका –३ मा अवस्थित ऐतिहासिक स्थान पाँचमानेमा आउँदो माघ ११ गते बिहीबारदेखि “शिव महापुराण विराट ज्ञान महायज्ञ’’ हुने भएको छ ।

पौराणिक तारकेश्वर मन्दिरलाई नेपाल लगायत विश्व सामु परिचित गराउने उद्देश्यले यही माघ महिनाको ११ गते बाट २३ गते सम्म विराट ज्ञान महायज्ञ गर्न लागेको हो ।

तारकेश्वर नगरपालिकाका सम्पूर्ण १ देखि ११ वटै वडालाई समावेश गराएर गर्न लागिएको यस महायज्ञमा संस्थागत तथा सामुदायिक विद्यालय ,सहकारी,महिला समूह लगायत विभिन्न सामाजिक समूहहरू तथा आम नगरवासी नै सक्रिय रूपमा सहभागी रहने तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनले जानकारी दिए । पौराणिक तारकेश्वर मन्दिरलाई नेपाल तथा विश्व सामु नै चिनाउनका लागि विराट महायज्ञले ठुलो भूमिका खेल्ने नगर प्रमुख महर्जनले दाबी गरे ।

तारकेश्वरलाई सम्पूर्ण देशवासीलाई चिनाउने अभिप्रायले समाजमा विभिन्न योगदान दिएका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले बताए । “ वाचन गुरु नारायण चतुर्त्युहज्युको मुखारविन्दबाट कथावाचन हुने उक्त विराट महायज्ञको उद्घाटन गर्न सम्भव भएसम्म राष्ट्रपति र प्रधानमन्त्रीलाई नै ल्याउने प्रयास गरिरहेको छौ। यसका साथै विभिन्न राजनीतिक दलका प्रमुखहरू, समाजमा ख्याति प्राप्त व्यक्तिहरूलाई समेत कार्यक्रममा सहभागी गराउने कार्य योजना रहेको छ ”, उनले भने, “ तारकेश्वर नगरपालिकालाई ७ सय ५३ वटै पालिकामा चिनाउने ऐतिहासिक अवसर जुटेको हुनाले यो अवसरलाई हामी सबैले आत्मसाथ गरेर उक्त स्थानमा आएर आफूलाई पुण्य कमाउन र तारकेश्वरलाई देश भरी चिनाउन आग्रह गर्दछु ।”

माघ ११ गते श्री स्वस्थानी व्रत कथा प्रारम्भको पहिलो दिन अर्थात् महायज्ञको पहिलो दिन सम्पूर्ण तारकेश्वर नगरवासी महिलाहरूको सक्रिय सहभागितामा बृहत् कलश यात्रा हुने तारकेश्वर मूल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिशरण घिमिरेले बताए। करिब २ हजार भन्दा बढी भक्तजनहरूको सहभागितामा पाँचमानदेखि तारकेश्वर मन्दिरसम्म पुगेर पुन : पाँचमाने फर्कने कलश यात्राको रुट तय गरिएको समितिका अध्यक्ष घिमिरेले जानकारी दिए। यस कलश यात्रामा सहभागी हुन चाहाने इच्छुक भक्तजनहरूले यथा सक्दो चाँडो आफ्नो नाम टिपाउन समेत घिमिरेले अनुरोध गरेका छन्।

सुरम्य शिवपुरी पर्वतको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल हो। स्कन्दपुराणको श्री स्वस्थानी व्रत कथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिव शक्ति स्वरूपले रहे भन्ने उल्लेख छ । यस स्थलमा लक्ष्मीले तपस्या गरेको कारण यहाँ आउने भक्तजनहरूको घरमा लक्ष्मीको बास रहिरहने तथा घर परिवारमा सुख शान्ति रहने समेत जनविश्वास रहेको छ।

पौराणिक तारकेश्वर मन्दिरको परिचय

बालाजु माछा पोखरीको नयाँ बसपार्कबाट करिब ८ कि.मि. दुरीमा उपत्यकाको उत्तर तर्फ रहेको पहाड र घना जङ्गलको बिचमा रहेको तारकेश्वर मन्दिर पौराणिक महत्वको हुँदा हुँदै पनि प्रचार प्रसारको कमीका कारण अझै पनि यो धार्मिक स्थलको बारेमा अधिकांश नेपालीहरू अनविज्ञ नै छन्। धार्मिक तथा पुरातात्त्विक हिसाबले तारकेश्वर मन्दिर जति महत्त्वपूर्ण छ प्राकृतिक सुन्दरताको दृष्टिले पनि कम छैन। यो पहाडको काखमा लुकेर बसेको तारकेश्वर क्षेत्रको पौराणिक धार्मिक महत्त्व त छँदै छ, यहाँको प्राकृतिक सुन्दरताले जो कोहीको मन सजिलै लोभ्याउन सक्छ । यो ठाउँमा पुगेर जो कोहिले पनि छुट्टै आनन्दको अनुभूति सँगाल्न सक्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थलबाट सजिलै काठमाडौँ उपत्यकालाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ। ऐतिहासिक पाँचमाने भञ्ज्याङ जितपुर फेदीबाट आर्मी ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ ।

मन्दिर जाने बाटोमा झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। तारकेश्वर मन्दिरमा नियमित पूजा आराधना गर्ने एक जना पुजारी रहेका छन्। साथै तारकेश्वर मन्दिर परिसरमा ध्यान साधना गरी बस्ने सन्त बाबा, कबिर पन्थी सम्प्रदायका साधुहरू ध्यान गरी बस्ने कुटी समेत रहेको छ । नववर्ष, साउन महिना,एकादशी,हरितालिका तिज,शिवरात्रि, जनै पूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढा –टाढाबाट भक्तजनहरू यहाँ पूजा आराधना गर्ने र मेला भर्ने गर्दछन्। अन्य समयमा पनि यहाँ भक्तजनहरूको आगमन हुने गर्दछ।

तारकेश्वर महादेव मन्दिरको शिर भागमा अर्थात् तारकेश्वरबाट करिब १ घण्टा उकालो चढेर धौलेश्वर महादेवको शिवलिंगमा पुग्न सकिन्छ । जहाँबाट उपत्यकाको मनोरम दृश्य अवलोकन समेत गर्न सकिन्छ । यो स्थान आध्यात्मिक पर्यटन तथा प्रकृतिमा विचरण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि एउटा अलौकिक गन्तव्य हो ।

 

नेपाली फौजले चिनिया फौजलाई काठमाडौँ उपत्यका पस्न नदिई हराएको स्थानको रूपमा समेत परिचित पाँचमाने भन्ज्याङको फेरि अर्को विशेष ऐतिहासिक महत्त्व रहेको छ । काठमाडौँको उत्तर–पश्चिमतिर अवस्थित पाँचमाने भञ्ज्याङबाट काठमाडौँ उपत्यका लगायत काभ्रे, सिन्धुली, धादिङ नुवाकोट जिल्लाका केही स्थानको सहजै दृश्यावलोकन सकिन्छ । यो भञ्ज्याङ पञ्चबुद्धसँग सम्बन्धित स्थान हो। यही ऐतिहासिक पाँचमानेमा “शिव पुराण विराट महायज्ञ’’ हुन लागेकाले समेत यसले ठुलो महत्व राखेको छ।