काठमाडौं । निजी क्षेत्र लगानीमा स्थापित पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । आईतबार राजधानिको राष्ट्रिय सभा गृहमा कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले सोही सभाबाट आर्थिक वर्ष २०७९।८० को प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गर्दै चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश दिने घोषणा गरेको हो।

हाल कायम कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो ।

हिमालयन रि इन्स्योरेन्सको सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन पनि सम्पन्न गरेको छ ।