काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले समेत आजै मन्त्रीको शपथ लिएका छन् । यसअघि आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।
अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् ।







