नेपालको संविधान २०७२ ले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । नेपालमा संघीयता आएको एक दशक पुग्नै लाग्दा सङ्घ र प्रदेशको तुलनामा स्थानीय तहले अपेक्षाकृत रूपमा राम्रा काम गरेको कतिपयको विश्लेषण छ । जनतालाई नजिकबाट सेवा दिने, सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो । नागरिकको घर आँगनको सरकारको रूपमा संविधानले स्थानीय सरकारको परिकल्पना गरेको हो । स्थानीय सरकार अन्तर्गत रहेका वडाहरूले पनि यो अवधिमा राम्रै काम गरेका छन् । विकास निर्माण लगायत वडा स्तरमा रहेका समस्याको पहिचान र तिनको समाधान र समाधानको पहल गर्नमा समेत वडा तहले राम्रो काम गरेका मान्न कठिन छैन ।
धेरै गाउँहरू मिलाएर बनाइएको ठुला वडा, वडाध्यक्षलाई सहयोग गर्ने कर्मचारीको सङ्ख्या कम र पर्याप्त अधिकारविहीन भएका कारणले वडाहरूले पनि अपेक्षाकृत काम गर्न नसकेको कुराहरू पनि बेलाबेलामा सुनिने गर्छन् । समग्रमा हेर्दा स्थानीय तहको व्यवस्था आइसकेपछि जनप्रतिनिधिले धेरै कुरा सिकेको र गाउँ तथा स्थानीय नागरिकहरूको गुनासो सुनेर समाधानका लागि पहल गर्ने काममा वडाहरू अगाडी नै देखिन्छन् ।
यसैबीचमा वडामा वडाध्यक्षको हैसियतमा रहेर काम गर्दै देखिने समस्या र तिनको समाधान, विकास निर्माण तथा स्थानीयहरूको क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा वडाले गरिरहेका कामका विषयमा केन्द्रित रहेर आर्थिक भ्वाइसका सम्पादक बिजय फुयाँलले तारकेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष परशु राम अर्याल सँग कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
तपाई निर्वाचित भएर आउनुभएको साढे दुई वर्ष पुरा भएको छ । हालसम्मको तपाईँको कार्यकाललाई कुन रूप सम्झिनुहुन्छ ?
यो साढे दुई वर्षको अवधिसम्ममा हामी जुन किसिमको सोच लिएर काम गर्छौ भनेर आएका थियौँ, त्यसमा म अझै पनि पूर्ण रूपमा सन्तुष्ट छैन । हामीसँग भएको सीमित स्रोत साधनको कारणले गर्दा हाम्रो काम गर्ने जुन सपना थियो ,त्यो राम्रोसँग पुरा हुन सकेको छैन । यद्यपि केही काम नै भएको छैन भन्ने पनि पक्कै होइन । यो साढे २ वर्षको अवधिमा धेरै रचनात्मक तथा सकारात्मक कामहरू पनि भएका छन् ।
भुवनेश्वरी मन्दिरको सीढीँ निर्माण देखी लिएर तारकेश्वरसम्मकै ट्रेकिङ ट्रायललाई विकास गर्ने सोचले काम भइरहेको छ ।
यस वडा भित्र रहेका धार्मिक,प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरूको महत्वलाई कायम राख्दै तिनको प्रचार प्रचार र विकासको लागि यो आधा कार्यकालको अवधिमा के गर्नु भयो ?
हामीले धर्मलाई पर्यटनसँग जोड्ने प्रयास गरिरहेका छौ । धार्मिक पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत हामीले विशेष गरी भुवनेश्वरी मन्दिरको सीढीँ निर्माण देखी लिएर तारकेश्वरसम्मकै ट्रेकिङ ट्रायललाई विकास गर्ने सोचले काम भइरहेको छ । यस वर्ष पनि हामीले यो योजनाको लागि केही बजेट विनियोजन गरेका छौ । यस्तै भुवनेश्वरीमा पनि केही बजेट विनियोजन गरेका छौ । योसँगै हामीले तारकेश्वर मन्दिर निर्माणार्थ गत वर्ष लगाएको शिव महापुराणबाट पनि केही पैसा मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ । यो सबै मिलाएर हामी एउटा गुरुयोजना नै बनाएर काम गर्न खोजिरहेका छौ । किनभने समितिको खातामा रहेको पैसालाई पनि त सिडमनीको रूपमा लगानी गर्न सकिन्छ नि । त्यस कारण यस क्षेत्रमा पनि सृजनात्मक तथा सकारात्मक काम भएको छ ।
वडाको बिकासको लागि तपाईको पहलमा के कस्ता गतिविधिहरू भएका छन् ? वडाको कतिपय ठाँउहरुमा अझै पनि खानेपानी बाटोघाटोको समस्या छ, यसबारेमा तपाई कत्तिको जानकार र संवेदनशील हुनुहुन्छ ?
खानेपानी
तारकेश्वर नगरपालिकाले यो वर्षलाई खानेपानी वर्षको रूपमा लिएको छ । नगरप्रमुख ज्युले नै एक घर एक धाराको अवधारणा अघि सार्नुभएको थियो । सो अवधारणाअनुरूपका कामहरू धेरै ठाँउहरुमा पुरा समेत भइसक्यो । यस्तै बागमती प्रदेश सरकारको सहयोगमा कोट, खडवाल, सुन्दरवस्ती लगायतका ठाउँमा एक घर एक धारा भन्ने अवधारणा लगभग पुरा भइसकेको छ । यस्तै वडास्थित भ्यूटावरसम्म पनि हामीले च्वाइस नेपाल नामक प्रोजेक्ट अन्तर्गत थुम्की, विश्वकर्मा टोल, नयाँगाँउ, तामाङ टोल र आठमाइलमा एक घर एक धारा कार्यक्रम अहिले पनि सञ्चालन गरिरहेका छौँ । अहिले अलिकति समस्या भनेको विश्वकर्मा टोलमा छ । त्यसको पनि हामी यो वर्षभित्रमा समाधान गरिसक्नेछौँ ।
यहाँको जियोग्राफिकल तथा टोपोग्राफिकल पनि अलि कम्प्लेक्स खालको छ र यममा भेरियसनहरु छ।
खानेपानी वितरणको प्रणाली सहज गर्नको लागि पनि वडा कार्यालय लागि परेको छ । यसमा पनि साबिकको वडा नं. ६ बाहेक अन्यत्र खासै समस्या छैन । त्यस्तै खानेपानीको समस्या हामीले यो वर्षभित्र सक्काउने भनेर पुराना पाइपलाईनहरु पनि मर्मत गरेका छौँ ।
अर्को कुरा भनेको हामीले विकाशलाई समग्र रूपमा हेरिरहेका छौँ । सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक विकाशलाई पनि सँगै लिएर जानुपर्छ भन्ने मान्यता हामीले लिएका छौँ ।
शिक्षा
शिक्षा क्षेत्रको विकास अहिलेको लागि मुख्य कुरा हो भन्ने मलाई लाग्छ । यस वडाभित्र ६ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । तिनको विकासका लागि पनि वडा कार्यालयले धेरै मिहेनत गरिरहेको छ । दरबन्दी नभएका विद्यालयहरूमा नगर अनुदान दरबन्दी ल्याएर सबै दरबन्दी पुरा गरिएको छ । कालिकासरण माध्यमिक विद्यालय, नागार्जुन ठुलागाँउ माध्यमिक विद्यालय तथा जीतपुर माध्यमिक विद्यालयमा एउटा विद्यालय एक नर्स कार्यक्रम समेत लागु गरिएको छ । २ वटा विद्यालयमा नर्स पनि आइसकेका छन् भने एउटा विद्यालयमा यो वर्षभित्रमा आइसक्छन् ।
यसका साथै यो तीन ओटै विद्यालयमा स्कुल बसको समेत व्यवस्था गरिएको छ । नागार्जुन ठुलागाँउ माध्यमिक विद्यालयमा बस आउन मात्र बाँकी छ भने कालिका माध्यमिक विद्यालयको लागि बस खरिदको प्रक्रिया अघि बढाइएको छ । सायद माघसम्म आइपुग्छ होला । र जीतपुर माध्यमिक विद्यालयमा त बस चलिसकेको छ ।
शिक्षाको क्षेत्रमा ठुलो युगान्तकारी फड्को हामीले मारेका छौँ ।
हामीले वडा सरकारको तर्फबाट यी बिद्यालयको भौतिक मात्र नभई गुणस्तर वृद्धि गर्नेतर्फ पनि ध्यान दिएका छौ । अझै पनि हाम्रो वडाबाट निजी विद्यालयमा पढ्नको लागि २० भन्दा बढी बसहरूमा बिद्यार्थीहरु गइरहेको हामीले पनि महसुस गरेका छौ । यस्तै हाम्रो बिद्यालयले दिने शिक्षा गुणस्तरीय भएन की, अभिवावकहरुले हाम्रा विद्यालयलाई विश्वास गर्न सकेनन् की भन्ने कुरा हामीले पनि महसुस गरेका छौँ ।
त्यस कारणले हामीले सबै बिद्यालयमा अङ्ग्रेजी माध्यम तथा मन्टेश्वरी बेसमा पढाइ सुरु गर्न लगाएका छौँ। मलाई लाग्छ, शिक्षाको क्षेत्रमा ठुलो युगान्तकारी फड्को हामीले मारेका छौँ ।
अव्यवस्थित प्लटिङ यो वर्षदेखि पुर्णरुपमा नियन्त्रण हुन्छ ।
सबै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पनि म स्वमः भएको कारणले गर्दा सबै विद्यालयहरूका समस्या र गतिविधीहरुलाई नजिकबाटै नियालिरहेको छु । आधारभूत तहका विद्यालयहरूको हकमा बिद्यार्थीहरुको सङ्ख्या एकदमै कम छ भने, माध्यमिक विद्यालयको अवस्था भने बिस्तारै बिस्तारै राम्रो हुँदै गइरहेको अवस्था छ ।
बाटो
बाटोघाटोको कुरा गर्नुपर्दा भने हामी नगरपालिकाकै विकट क्षेत्रमा पर्छौ । यो भर्जेन टाइपको वडामा पर्छ । यहाँको जियोग्राफिकल तथा टोपोग्राफिकल पनि अलि कम्प्लेक्स खालको छ र यममा भेरियसनहरु छ। अर्थात् हामीसँग सुगम क्षेत्रहरू पनि छन् र दुर्गम क्षेत्रहरू पनि छन् ।
प्राकृतिक रूपमा पनि दुर्गम भएको कारणले गर्दाखेरि कतिपय कामहरू गर्दा कठिनाइ उत्पन्न हुने नै भए । एक वर्षमा आएको पानी वा भलले गर्दा बनिसकेका वा बन्दै गरेका कतिपय संरचना ध्वस्त पारिदिने समेत गर्दो रहेछ । तथापि वडाको बिकासको लागि हामीले बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारसँग समन्वय गरेर अहिले मात्रै हामीले सङ्घ सरकारबाट ६ करोड रुपैयाँ, प्रदेश सरकारबाट ६ करोड रुपैयाँ र तारकेश्वर नगरपालिकाबाट ५ करोड रुपैयाँ गरी एउटै वडामा १७–१८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छौँ । यसबाट धेरैजसो सडक तथा खानेपानीको कामहरू हुँदै छन् । उदाहरणको लागि तिनपिप्ले -चिसापानी सडक खण्डको लागि १ करोडको टेन्डर निस्किसकेको छ। यस्तै आठमेलबाट डाँडागाउँ जाने बाटोमा पनि १ करोड रुपैयाँ टेन्डर निक्लेको छ । यस्तै तीनपिप्ले–जितपुरफेदी सडक खण्डको लागि पनि १ करोड रुपैयाँ बरावरको टेन्डर निक्लिँदैछ । भुवनेश्वरी मार्गको लागि पनि अर्को १ करोडको टेन्डर निक्लेको छ । चोगाउँ जाने बाटोको लागि पनि हामीले प्रशस्त बजेट छुट्टाएका छौ।
यति प्रयास हुँदाहुँदै पनि तपाईँले कार्यकाल कस्तो रह्यो भनेर सोध्दा म खासै सन्तुष्ट छैन । तर मैले सकेको भरपूर्ण कोसिस गरिरहेको छु ।
बागमती प्रदेश सरकारले पनि विभिन्न योजनाको लागि बजेट दिएको छ । अर्को महत्त्वपूर्ण कुरा भनेको सानो बाइपास–जितपुरफेदी–पाँचमाने सडक खण्डलाई त प्रदेश सरकारले अपनत्व ग्रहण गरेर सब हाइवेको रूपमा विकास गर्न खोजिरहेको छ । त्यो सँगसँगै स्यालबास–रामघाट–तिनपिप्ले सडकलाई पनि प्रदेश सरकारले यसै अनुरूप विकास गर्न खोजिरहेको छ । यसको डिपिआर समेत तयार भई कम्तीमा पनि २० करोड रुपैयाँ जतिको छुट्टै ठेक्का दिने कुरा प्रदेश सरकारले गरिरहेको छ । यो भनेको हाम्रो लागि एकदमै ठूलो सकारात्मक प्रभाव पार्ने कुरा हो ।
विकास निर्माणको बाधकको रूपमा हामीले बफर जोनलाई हेरेका छौँ ।
नगरपालिकासँग त करिब ४० अर्बको डिमान्ड छ । तर उसँग करिब दुई अर्ब मात्रै पैसा छ । ३८ अर्ब हामीले मिनिमाइज गर्नुपर्छ । तैपनि विकास निर्माणका लागि हामी लगातार प्रयास गरिरहेका छौँ । यति प्रयास हुँदाहुँदै पनि तपाईँले कार्यकाल कस्तो रह्यो भनेर सोध्दा म खासै सन्तुष्ट छैन । तर मैले सकेको भरपूर्ण कोसिस गरिरहेको छु र गरिरहने छु।
यस वडाभित्र कृषियोग्य जमिन मासिँदै गइरहेको कुरा त तपाईँलाई थाहा नै छ । त्यसमा मुख्य भूमिका खेल्ने प्लटिङ तथा अव्यवस्थित घर निर्माण कार्यलाई व्यवस्थित गर्नका लागि वडाले केही योजना बनाएको छ कि छैन ?
तारकेश्वर नगरपालिकाले यस नगरपालिका भित्रका सबै जग्गाहरूलाई गैर कृषि क्षेत्र भनेर वर्गीकरण गरेको छ । यो आम जनताको आवश्यकताको आधारमा गरेको हो । तर कुनै जनताले अहिले नै मेरो जग्गालाई कृषियोग्य बनाइदिनुहोस् भन्यो भने हामी तुरुन्तै बनाइ पनि दिन्छौँ । जुन नगरवासीको संवैधानिक हक हो । तर हामीसँग जग्गा बेचेरै छोराछोरी पढाउनुपर्ने, त्यही जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउनु पर्ने बाध्यता भएको र कृषि क्षेत्र घोषणा भएको अवस्थामा यसको कित्ताकाट गर्न नपाइने भएकोले यस्तो गरिएको हो । तर यति हुँदाहुँदै पनि नगरपालिकाभित्रको सबैभन्दा बढी कृषि पकेट क्षेत्र भएको वडा भने यहीँ हो ।
मल अभाव यसबर्षदेखि समाप्त हुने अपेक्षा हामीले लिएका छौ ।
यस वडाका करिब ६० प्रतिशतभन्दा बढी मानिसहरू कृषिमै निर्भर रहेका छन् । त्यस कारणले उहाँहरूलाई सहज तरिकाले मल बिउ बिजन उपलब्ध गराउने जिम्मेवारी हाम्रो हो । रासायनिक मलको हकमा अझै पनि कोटा प्रणालीबाट वितरण हुने भएकाले किसानहरूले चाहेको जति मल पाउन सक्नु भएको छैन। तर किसानहरूलाई पर्याप्त मलको व्यवस्था गर्नको लागि हामीले प्रदेश सरकार कृषि मन्त्रालयसँग अनुरोध गर्यौ । र यस वर्षको कोटा केही बढेको छ । जस कारणले मल अभाव यसबर्षदेखि समाप्त हुने अपेक्षा हामीले लिएका छौँ । ।
हाम्रो वडाका महिला सबै सफल नेतृत्वदायी भूमिकामा आउन सक्ने हुनु भएको छ। त्यो एकदमै खुसीको कुरा हो।
एउटा कुरा यो भयो अर्को कुरा अव्यवस्थित प्लटिङ र कृषियोग्य जग्गाको दोहनलाई रोक्नको लागि भने हामीले काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग समन्वय गरेका छौ । प्राधिकरणसँगको सहकार्यमा हामीले डिपिआर नै तयार गरेर व्यवस्थित सहर बसाल्न ‘अर्बन डेभलपमेन्ट प्रोजेक्ट’ अर्थात् ल्यान्ड पुलिङको कामलाई अगाडि बढाउन खोजिरहेका छौँ । यो कार्य म आएदेखि नै सुरु भएको हो । तर यसमा धेरै कठिनाइहरू छन् । कतिपयले यो गर्नु हुँदैन भन्छन्, भने कतिले ठिक हो पनि भन्छन् । तर मेरो बिचारमा व्यवस्थित बसोबास गर्ने हो भने ल्यान्ड पुलिङ गर्नुको विकल्प छैन । र त्यसमा जग्गाको योगदानको विषयमा धेरै असहमति हुन सक्छ । तर यसमा पनि मिनिमाइज गरेर अगाडि बढ्ने हो भने हामीले यो प्रोजेक्टलाई सुरुवात गर्नुपर्छ । यो मेगा ड्रिम प्रोजेक्ट हो । यहाँ व्यवस्थित सहर बसाउन त्यसको लागि डिपिआर पनि भएको छ तर अहिले त्यो फाइल सहरी विकास मन्त्रालयमा छ ।
यहाँ व्यवस्थित सहर बसाउन त्यसको लागि डिपिआर पनि भएको छ तर अहिले त्यो फाइल सहरी विकास मन्त्रालयमा छ ।
अब यहाँका ५० प्रतिशत भन्दा बढी मानिसले हुन्छ भन्यो भने त्यो प्रोजेक्ट अगाडी बढ्छ नभए बढ्दैन । समस्या त्यहाँनेर छ हामी प्रयास गरिरहेका छौँ र अव्यवस्थित प्लटिङ यो वर्षदेखि पुर्णरुपमा नियन्त्रण हुन्छ । आजको दिनसम्म जति प्लटिङ भएको छ, भयो अब हुन दिँदैनौँ । अध्ययन,अनुसन्धान गरेर प्राविधिकले ठिक छ, प्लटिङको लागि उपयुक्त छ भनेर भन्यो भने त्यो अर्कै कुरा हो । नभए हाम्रो जस्तो डाँडाकाँडा भएको ठाउँमा डोजर चलाउन दिनुहुदैन् । फाटमा,सम्म ठाउँमा घडेरी बनाउनका लागि भए बेग्लै कुरा हो। ठुलो ठुलो ल्यान्ड प्लटिङ गर्नका लागि डाँडा नै दियो भने यसले ठुलो विनाश गर्ने रहेछ अघिल्ला वर्षहरूमा हामीले देखिसक्यौ हामीले यसले ठूलो मात्रामा जनधनको क्षति पनि गर्न सक्छ । यस अघिका कुराहरूबाट पनि धेरै पाठ सिकिसकेका छौँ ।
बफर जोनका कारणले किसानहरूको खेतीवालीमा जङ्गली जनावरहरूले साह्रै दुख दिने गरेको छ, त्यसको व्यवस्थापनको लागि वडाको ध्यान गएको छ कि छैन् ?
बडो विडम्बना छ की, हामी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र छौँ । मध्यवर्ती क्षेत्र हुँदा धेरै बेफाइदा हुँदा रहेछन् । किनभने कुनै पनि विकास निर्माणको काम गर्नुपरेमा, चाहे त्यो खानेपानीको होस् या सडक बनाउन नै किन नहोस् राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमति लिनुपर्छ । त्यो अनुमति लिनलाई इआइए लगायतका धेरै कुराहरू गर्नुपर्ने हुन्छ । त्यस कारण विकास निर्माणको बाधकको रूपमा हामीले बफर जोनलाई हेरेका छौँ । अर्को कुरा हाम्रो किसान दाजुभाइले लगाउनुभएको अन्नबाली राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरहरूले खाइदिएर हैरान पारेका छन् । किसान मार्कामा छन्, राष्ट्रिय निकुञ्जलाई गुहार्दा गुहार्दै हामी थाकिसक्यौँ ।
कतिपय संविधानले दिएका कुरा पनि हामीले व्यवहारमा लागू गर्न सकेका छैनौँ ।
धेरै कोसिस गरेपछि यसपालिदेखि राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गली जनावरले खाएको किसानको बालीनालीको क्षतिपूर्ति दिन सुरु गरेको छ । कति दिने भन्ने कुरा जनावरले नोक्सान गरेको अन्नबालीको आधारमा वडाबाट सिफारिस बनाएर क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । तर पनि यसबाट किसान पूर्ण रुपमा भने सन्तुष्ट हुने अवस्था छैन ।किसानहरू मर्कामा छन्। जनावरको नियन्त्रणको लागि भने राष्ट्रिय स्तरको नीति नै चाहिन्छ । जनावर मार्न पाउने प्रावधान नेपालमा छैन । त्यस कारण सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ । विशेष गरी वन तथा वातावरण मन्त्रालयले यसलाई हेर्नु पर्छ ।
घरदैलोमा सिहँदरवारको रूपमा वडाले अहिले धेरै अधिकारहरू पाएको छ । तर के यहाँका जनताहरूले त्यसको अनुभूति गर्न पाएका छन् त ?
धेरै कुरामा सहज छ जस्तो लाग्छ । उदाहरणका लागि भन्नुपर्दा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नसक्नेहरूको लागि बैंकलाई लिएर हामी घरघरमा गयौ नि त्यही हो घरघरमा सिंहदरबार भनेको । तर आम नागरिकको अपेक्षा अनुसार सेवा सुविधा दिन नसकेको कुरा हामी स्विकार्छौ । तहगत सरकारको आधारमा स्थानीय सरकारलाई अझ बढी अधिकार दिनुपर्ने हो । तर वडाले नै पाएका कतिपय अधिकार प्रयोग गर्नका लागि पनि नगरपालिका वा प्रदेश सरकार घच्घच्याउनुपर्छ । कतिपय संविधानले दिएका कुरा पनि हामीले व्यवहारमा लागू गर्न सकेका छैनौँ । जसमा बिस्तारै सहजीकरण हुँदै जाला । तर आम जनतालाई छिटो छरितो चुस्त तथा दुरुस्त तरिकाले सेवा दिन यो वडा कार्यालय सधैँ तत्पर छ । जनताको चाहना एकातिर र वास्तविकता अर्कोतिर भएको छ । सबै काम वडाले गरिदिन हो भन्ने खालको भाष्य निर्माण भएको छ । समृद्ध समाज निर्माणको लागि सबैले सोच परिवर्तन गर्नु जरुरी छ । यस्तै तपाईँको यो जनप्रतिनिधि तपाईंको सेवामा काम गर्नका लागि सधैँ तयार छ ।
निर्वाचनका वेलामा तपाईँले जनतासामु गरेका वाचाहरु अहिलेसम्म कति पुरा गर्नुभयो रु कति बाँकी छ ?
धेरै वाचा पूरा भएका छन्न् जस्तो मलाई लाग्छ । केही वाचाहरू भने पूरा हुने क्रममा छन्। शिक्षा तथा स्वास्थ्यमा धेरै कुराहरू पूरा भएका छन् । बाटोघाटो र सडकमा पनि सुधार भएको छ । काम भइरहेकै छन् । जनताले चाहेको जस्तो परिवर्तन चाहिँ पक्कै भएको छैन । यो यथार्थ हो । यस्तै तीनपिप्ले– आठमाइल –ठूलागाउँ–मुड्खु भएर चल्ने सार्वजनिक यातायात भने चलाउन सकेको छैन । मैले, म जनप्रतिनिधि तीन महिनाभित्र चलाउँछु भनेको थिए । तर त्यो चलाउन सकिएन । यो मेरो लागि निकै खड्किरहेको र मन पोलिरहेको विषय एउटा यो हो ।
शतप्रतिशत भन्ने त कहीँ पनि हुदैन् तर अबको बाकी कार्यकालमा ८० प्रतिशत भन्दा बढी काम सकिन्छ ।
अर्को कुरा भनेको हाम्रो वडाका कतिपय भागहरू अझै दुर्गममै पर्छन् । आठमाइल, डाडागाउँ, ख्यालबुचा,कोट भन्दा पछाडि पट्टिको गाउँ,पाँचमानेको पछाडि पट्टिको गाउँ जहाँ हामीले सीमित स्रोत तथा साधनका कारणले भनेजस्तो र सोचेजस्तो रूपले कामहरू गर्न सकेका छैनौँ । अझै पनि तिनपिप्ले–चोगाँउ जाने बाटो ४० वर्ष भइसक्यो, त्यहाँ गाडीहरू चल्न सकेका छैनन् । फेदी जाने बाटो पनि ४० वर्ष भइसक्यो त्यहाँ बाटो पुरै बनिसकेको छैन् । त्यस कारण मैले म आफैँमा सन्तुष्ट छैन्। प्रयास गरिरहेको छु । अबको साढे २ वर्षको अवधिमा धेरै काम गर्ने सोचेका छु।
वडाध्यक्षको रुपमा काम गर्दैगर्दा तपाईँले सामना गर्नुपरेका मुख्य चुनौतीहरू के के हुन् ?
कतिपय ठाउँहरूमा विवाद छ । कतिपय ठाउँहरूमा आफ्नै किसिमका चुनौतीहरू छन् । स्थानीय मान्छेहरूको पनि आफ्नो किसिमको विवाद छ । यसमा फेरि मेरो टिमले असहयोग गरेको छैन्। सबैले सहयोग नै गरिरहनु भएको छ। हामी पाचै जना एउटै जस्तै छौ । मैले कुनै पनि मान्छे र प्रोजेक्टलाई राजनीतिक दृष्टिकोणले मैले कहिल्यै हेरेको छैन् ।यो हामी सबैको साझा कुरा हो। हामी सबैले अपनत्व लिनु पर्छ भनेर लागेका पनि छौ। तरपनि नतिजामुखी काम हुन नसकिरहेकोमा म निकै चिन्तित छु । जहाँसम्म मलाई लाग्छ, शतप्रतिशत भन्ने त कहीँ पनि हुदैन् तर अबको बाकी कार्यकालमा ८० प्रतिशत भन्दा बढी काम सकिन्छ ।
वडाका ज्येष्ठ नागरिक, गरिब, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र जीवनस्तर उकास्नका लागि विकासका लागि के कस्ता कार्यक्रमहरू ल्याउनुभएको छ ?
अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई लक्षित गर्दै हामीले स्वास्थ्य बीमा कार्यक्रम,ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक सहायता कोष सुरु गरेका छौ । अपाङ्गमैत्री कार्यक्रम, महिलाहरूका लागि पनि सीप विकास तथा महिला अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेका छौ । पहिलाको तुलनामा अहिले हाम्रो वडाका महिला सबै सफल नेतृत्वदायी भूमिकामा आउन सक्ने हुनु भएको छ। त्यो एकदमै खुसीको कुरा हो।
रोजगारीको लागि अहिले युवाहरु विदेश गइरहेको अवस्थामा युवाहरूलाई नै स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नको लागि तपाईँको रणनीति के छ ?
युवा जनशक्ति विदेश पलायन हाम्रो देशको ठुलो समस्या हो । हाम्रो देश पछाडि पर्नुमा यो एउटा मुख्य कारण हो भन्ने लाग्छ मलाई । यो बडो दुर्भाग्यको कुरा पनि हो । राज्यले नै यो विषयमा गम्भीर भएर सोच्नुपर्छ जस्तो मलाई लाग्छ । यसमा वडाध्यक्षको हैसियतमा त मैले खासै केही पनि गर्न सक्दिन तर राज्य वा नगरपालिकाले पनि यसको लागि विशेष नीति बनाउनु जरुरी छ । युवाहरूलाई पलायन हुन नदिई गाउँमै रोजगारी सृजना गर्ने र विदेशमा सीप सिकेर फर्किएकाहरूको सीपलाई गाउँमै सदुपयोग गर्ने खालका नीति निमार्णका लागि म मेरो तहबाट सकिने प्रयास गरिरहेको छु ।
बत्तीमुनिको अँध्यारोजस्तै बनिरहेको वडाको चौतर्फी विकासका लागि तपाईँले के कस्ता योजनाहरु बनाउनुभएको छ ?
प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक हिसाबले सम्पन्न हाम्रो यो वडा केही कुराहरुको अभावमा तपाईँले भनेजस्तै बत्तीमुनिको अँध्यारोजस्तै भएको छ । तर धेरै सकारात्मक कामहरू पनि भएकै छन् । नगरपालिकाभित्र नै २१ ओटा मात्रै सामुदायिक बिद्यालयहरु भएकोमा हाम्रो वडामा मात्रै ६ वटा हुनु र तिनको ब्यवस्थापन गरिनु आफैमा ठुलो कुरा हो । ठुलो भूगोल र हिजोका दिनदेखि नै विकासबाट ओझेलमा रहेको यो वडामा एकैचोटी व्यापक परिवर्तन ल्याउन सकिन्छ भन्ने पक्कै पनि होइन ।
अबको साढे २ वर्षको अवधिमा हाम्रो वडामा धेरै विकास भइसक्छ ।
बिस्तारै बिस्तारै धेरै कामहरू भइरहेका छन् । मलाई आशा छ अबको साढे २ वर्षको अवधिमा हाम्रो वडामा धेरै विकास भइसक्छ । वडाको चौतर्फी विकाशको लागि मेरो असल प्रयत्न सधैँ रहिरहने छ। सधैँ मेरो दौडधुप चलिरहने छ। मैले गर्न सक्ने कुराहरू गरिराख्छु। यो प्रतिबद्धता तपाइको अनलाइन मार्फत म आम जनतालाई यहीँ भन्न चाहन्छु।
अन्त्यमा वडावासीहरुलाई केही भन्न चाहानुहुन्छ ?
तपाईँको जनप्रतिनिधि तपाईँको आकाङ्क्षा अनुसार र हाम्रो आवश्यकता र हाम्रो भूगोल अनुसार काम गर्नको लागि सधैँ तल्लीन छ । हामी तपाईँहरूको सेवा सुविधाको लागि हर दिन हर रात प्रयत्नरत छौ। पारदर्शिता र निष्पक्षता हाम्रो मूल मन्त्र हो । भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता पनि हाम्रो लागि महत्त्वपूर्ण कुरा हो । वडाले दिने सेवा सुविधाहरूलाई कसरी छिटोछरितो र चुस्त दुरुस्त बनाउने भन्नेमा हामी सधैँ तल्लीन छौ । यहाँहरूका केही गुनासो र पिर मार्काहरू छन् भने तत्कालै वडामा आएर राखिदिनुहोला हामी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नेछौ ।







