काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ । सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधवारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरेको छ ।
सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ ।
साथै, कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, एक वर्ष तथा छ महिनाका निम्ति कालोसूचीमा राखेको सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।
यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, लगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेको सूचनामा उल्लेख गरिएको छ ।








