काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै संसदको नयाँ शक्ति सन्तुलन पनि प्रस्ट भएको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको देखिएको छ।

यता, नेपाली कांग्रेस ३८ सिटमा सीमित हुँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले २५ सदस्यसहित तेस्रो स्थानमा पुगेको छ। त्यस्तै, श्रम संस्कृति पार्टीका ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ सांसद रहेका छन्। साथै, एक स्वतन्त्र सांसद पनि प्रतिनिधिसभामा छन्।

यो परिणामले परम्परागत दलहरूको प्रभाव घट्दै नयाँ राजनीतिक शक्तिको उदय भएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। अब सरकार गठन, नेतृत्व चयन र आगामी नीतिगत दिशामा रास्वपाको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

शपथ ग्रहणमा भावी प्रधानमन्त्री मानिएका बालेन सिलाम साक्मा लगाएर पुगेका थिए। किराती संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतको प्रतिकका रुपमा लिने गरिन्छ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।