काठमाडौँ एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। यो रकम डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन र नागरिक तथा व्यवसायीलाई प्रभावकारी डिजिटल सेवामा सहज पहुँच सुनिश्चित गर्न प्रयोग गरिने एडीबीले जनाएको छ।
‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ दक्षिण एसियामा पहिलो परियोजना हो, जुन एडीबी र विश्व बैंकको संयुक्त आर्थिक सहयोगमा सञ्चालन हुँदैछ। परियोजनाले सरकारी तथ्यांक सुरक्षा र स्थायित्व क्षमता सुदृढ गर्दै आधुनिक, प्रयोगकर्ता–मैत्री डिजिटल पूर्वाधार निर्माणमा केन्द्रित छ।
एडीबीको विज्ञप्ति अनुसार, परियोजनाले एकीकृत नागरिक सेवा पोर्टल, राष्ट्रिय सामाजिक दर्ता प्रणाली सुधार, तीनै तहका सरकारबीच डेटा एक्सचेन्ज प्लेटफर्म स्थापना, र करिब ११ वटा उच्च प्रभाव पार्ने सरकारी सेवाहरूलाई डिजिटल रूपान्तरण गर्ने काम समेट्नेछ।
नेपालका लागि एडीबी देशीय निर्देशक अर्नाउड काउचोइसले डिजिटल रूपान्तरणले सार्वजनिक सेवा प्रवाह सुधार गर्न, नागरिकको सेवा पहुँच सजिलो बनाउन, प्रशासनिक अवरोध घटाउन र सरकारी सेवामा छिटो र पारदर्शिता बढाउन सहयोग गर्ने बताए। उनका अनुसार, यस परियोजनाले नागरिक र सार्वजनिक निकायबीच विश्वास निर्माणमा पनि भूमिका खेल्नेछ। परियोजना नेपाल सरकारको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमार्फत कार्यान्वयन हुने छ।







