काठमाडौँ । सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूका मागप्रति नेकपा एकीकृत समाजवादीले ऐक्यबद्धता जनाएको छ ।

बिहीबार नेकपा एसका प्रमुख सचेतक समेत रहेका मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर आन्दोलनरत क्रसर तथा खानी उद्योग व्यवसायीलाई साथ दिएर ऐक्यबद्धता जाहेर गरेका हुन्।

‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरूको मागप्रति म र नेकपा एकीकृत समाजवादीको तर्फबाट ऐक्यबद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहान्छु,’ उनले भने। उनले सरकार राजस्वको दायरा बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने र बचाउने खेलमा लागेको कारण उद्योगी, पेशा, व्यवसायीहरू धेरैका मागहरू अलपत्र रहेको बताए।

‘मैले के गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो। नेपालमा पुँजीपतिहरूको सङ्ख्यामा कसरी वृद्धि गर्ने, राजस्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने, बचाउने खेलमा मात्र सरकार रहेको छ,’ उनले भने, ‘जसका कारण उद्योगी व्यवसायीहरू धेरैका मागहरू अलपत्र अवस्थामा छन्।’

क्रसर तथा खानी उद्योग सम्बन्धी कानुन पनि बन्दै गरेको भन्दै उनले सम्भवतः यही महिनाभित्र कानुनको टुंगो लाग्ने आश्वासन दिए। सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरू सम्बोधन नगरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्।