काठमाडौँ । देशभरका विभिन्न स्थान सहित काठमाडौँ उपत्यका परेको भारी वर्षाका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यका जलमग्न भएको छ।
काठमाडौँको बागमती नदीमा पानीको बहाव बढेको छ । विशेष गरी, हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ।
यसैगरी, सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको आवागमन प्रभावित बनेको छ। भारी वर्षा हुँदा वनस्थलीको मिलीजुली टोल, स्वयम्भूको सानो भर्याङ तथा ठुलो भ(याङ क्षेत्र डुबानमा परेको छ।
यता बल्खुको तरकारी बजार, कुलेश्वरको फलफूल बजार तथा सुकुम्वासी बस्तीमा बाढी पसेको छ । माछा पोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन समेत फुटेर थप डुबान भएको छ । कीर्तिपुर ६ चोभारमा पहिरोले हेटौँडा बल्खु सडक अवरुद्ध बनेको छ ।
त्यस्तै माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भू, कोटेश्वर, केशरमहल क्षेत्र जलमग्न भएकाले सवारी आवागमन प्रभावित हुनुको साथै अत्यधिक जाम भएको छ । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ ।
उपत्यकाको ललितपुरको गोदावरीमा अत्यधिक वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ८०.२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार काठमाण्डौं उपत्यका स्थित बाग्मती नदीको गौरी घाट,खोकना र मनोहरा जल मापन केन्द्रमा हालको जल सतह सतर्कता तह पार गरेको कारण ५ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।







