काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एघारौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषदका अनुसार स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएका छन् ।

यसपटक स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४० जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै स्नातक तर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्री लगायत विभिन्न १३ विषयमा एक हजार ४०३ जना सहभागी भएकोमा ९२१ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै पीसीएल (प्रमाणपत्र तह) पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका विभिन्न नौ विषयका एक हजार ९६१ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये एक हजार ५१८ परिक्षार्थी फेल भएका छन् । यस्तै ४४३ जना मात्रै उत्तीर्ण भएका हुन् ।

परिषद्ले उत्तीर्ण भएकाहरुको प्रमाणपत्रको वितरणका लागि चाडै नै सूचना प्रकाशित गर्ने जनाएको छ ।