काठमाडौं । गभर्नर सिफारिस समितिमा रिक्त रहेको सदस्य पदमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो ।
यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । सरकारले अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय गरेको हो ।
समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र भट्टराई सदस्य थिए ।
प्रमुख सत्तारुढ दल नेकपा एमाले र काँग्रेसले गभर्नर नियुक्तिमा आफूखुशी सहमति गर्दै आफूहरूलाई रबर स्ट्याम्पको रूपमा मात्रै प्रयोग गर्न खोजेको भन्दै वैशाख १० गते समितिका सदस्य भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको सदस्य पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । विवादित बन्न पुगेको उक्त सहमति विरुद्ध सर्वाेच्च अदालतमा रिट समेत दायर भएको थियो । उक्त रिटमा अदालतले अन्तिम फैसला गर्न भने बाँकी रहेको छ ।







