काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति असार ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि वैशाख १७ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तान्न खोज्दा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए । जसको औसत ब्याजदर २.८५ प्रतिशत निर्धारण भएको थियो ।







